मोरङ केराबारीका यस्ता सासुससुरा, जसले एकल बुहारीलाई छोरीसरह घरबाटै अन्माइदिए

  • १ कार्तिक २०७६, शुक्रबार

मोरङको केराबारी ९ भलुवा निवासी कुवेरप्रसाद पोख्रेलका परिवारले आफ्नी एकल बुहारीको घरबाटै विवाह गरिदिएका छन् ।

बिक्रम संबत २०६७ साल असार १४ गते २४ वर्षको अल्पआयुमै कुवेरप्रसादको एक्लो छोरो पुण्यप्रसाद पोख्रलको निधन पछि एकल बनेकी बुहारी सुनिता पोख्रेललाई छोरी सरह विवाह गरिदिएका हुुन् । दशवर्ष अगाडी एकल भएकी सुनिताको सासु ससुराले गाउँका आफन्त तथा भद्रभलाद्मी सबै बोलाएर झापा घैलाडुब्बा निवासी बलबहादुर कार्कीसँग विहीवार विवाह गरिदिएका थिए ।

सुनिता र पुण्यप्रसादबिच २०६५ साल तिर विवाह भएको थियो । विरामी हजुरबालाई उपचार गर्न अस्पताल लैजादै गर्दा मोटरसाईकल दुर्घटनामा परी पुन्यको निधन भएको थियो । त्यतिखेर सुनिताको छोरी डेडवर्षको मात्र रहेकी थिईन् । पोख्रेल केेेराबारी ९ कै घंघरुस्थित स्वास्थ्य संस्थामा कार्यरत थिए ।

श्रीमानको निधन पश्चात घरपरिवारको सल्लाह र सहमतिमा छोरी सहित सुनिता माईतमै बस्दै आएकी थिईन् । माईतमा बसेर शिक्षण गर्दै आएकी उनको छोरी अहिले १३ वर्षकी भएकी छिन् ।

आफ्नो एकल बुहारीलाई कुवेर प्रसादले आफ्नो रितीरिवाज विवाह गरी विदाई गरेपछि पोख्रेल परिवार मात्र होइन, छरछिमेक पनि खुशी भएका छन् । विवाहमा   नेकपा केराबारीका अध्यक्ष राम कार्की, केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्रप्रताप मल्ल लगायत दलका नेता र जनप्रतिनिधिले पनि उपस्थित भइ शुभकामना दिएका थिए ।