सिराहालाई ३–१ ले पराजित गर्दै धरान फुटबल क्लब डाँगीहाट गोल्डकपको सेमिफाइनलमा

  • ४ कार्तिक २०७६, सोमबार

सिराहा फुटबल क्लब गोलबजारलाई पराजित गर्दै धरान फुटबल क्लब तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ ।

गोलबजारलाई ३–१ गोल अन्तरले पराजित गर्दै धरानले सेमिफाइनलमा स्थान बनाएको हो ।

मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको सोमबारको खेलमा धरानका वर्तमान राई, बुद्ध चेमजोङ र प्रकाश बुढाथोकीले क्रमशः ३२, ४८ र इन्जुरी समयमा गोल गरे । सिराहाका ईसान राईले ५० औ मिनेटमा एक गोल गरे । खेलमा थप गोल हुन नसक्दा सिराहा प्रतियोगिताबाट बाहिरियो ।

इन्जुरी समयमा गोल गरेका धरानका प्रकाश नै खेलको म्यान अफ द म्याच भए । उनले नगद ५ हजार प्राप्त गरे ।

मंगलबार ब्वाइज युनियन काठमाण्डौ र डाँगीहाट फुटबल क्लब निलो बिच प्रतिष्पर्धा हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले बताए ।

यसअघि आइतबार भएको उद्घाटन खेलमा काँकडभिट्टालाई  पाखा लगाउदै चर्च ब्वाइज क्लब काठमाण्डौले अन्तिम चारमा स्थान बनाएको थियो ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ  ।

प्रतियोगितामा डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरि जम्मा ८ टिमले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल कात्तिक १० गते हुनेछ ।