डाँगीहाट निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन सेमिफाइनलमा

  • ६ कार्तिक २०७६, बुधबार

डाँगीहाट फुटबल क्लब निलोलाई सडनडेथमा पराजित गर्दै ब्वाइज युनियन काठमाडौं तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

मोरङको बेलबारी १० भाउन्नेमा अवस्थित प्रस्तावित डाँगीहाट रंगशालामा जारी गोल्डकपको मंगलबारको खेलमा बिजयी हुँदै ब्वाइज युनियन अन्तिम चारमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो । निकै प्रतिष्पर्धात्मक खेल बराबरी पछि भएको ट्राइबेकरमा समेत दुवै टिम बाट ४–४ गोल भएपछि भएको सडन डेथमा डाँगीहाट निलोलाई २–१ गोलले पराजित गर्दै ब्वाइज युनियनले बाजी मारेको हो ।

यस अघि खेलको ४७ औ मिनेटमा मौसम लिम्बुले गोल गर्दै डाँगीहाट निलोलाई अग्रता दिलाएका थिए । ६३ औ मिनेटमा ब्वाइज युनियनबाट खेलेका अफ्रिकन खेलाडी फोफानाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

ब्वाइज युनियनका तर्पन कार्की म्यान अफ द म्याच घोषित हुदै नगद ५ हजार प्राप्त गरे ।

बुधबार पाँचथर क्लब पाँचथर र डाँगीहाट फुटबल क्लब मोरङ रातो बिच अन्तिम क्वाटरफाइनल प्रतिष्पर्धा हुने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बुले जानकारी दिए । यस अघि चर्च ब्वाइज क्लब काठमाण्डौ र धरान फुटबल क्लब सुनसरीले अन्तिम चारमा स्थान बनाइसकेका छन ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफि, मेडल जित्ने छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडिलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेष्ट गोलकिपर, वेष्ट डिफेन्स, वेष्ट मिडफिल्डर, वेष्ट फर्वाड, वेष्ट कोच, उदयमान खेलाडी प्रत्तेकलाई नगद १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्तेक खेलको मेन अफ द म्याचले नगद ५ हजार पाउने छ ।
प्रतियोगितामा डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरि जम्मा ८ टिम प्रतिस्पर्धामा छन् ।