तेस्रो डाँगीहाट गोल्डकपको अन्तिम चारमा पुग्यो आयोजक डाँगीहाट रातो पनि

  • ६ कार्तिक २०७६, बुधबार

आयोजक डाँगीहाट रातो टोली मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकपको सेमिफाइनलमा प्रबेश गरेको छ ।

बुधबार भएको अन्तिम क्वार्टरफाइनलमा पाँचथर फुटबल क्लबलाई २–० ले हराउदै आयोजकको टोली अन्तिम चारमा प्रबेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा डाँगीहाटले दुबै गोल दोस्रो हाफमा गरेको थियो । ५९ औ मिनेटमा दिपक राईले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेटपछि विदेशी खेलाडी अब्दुल्लाहले अर्को गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।

रोमाञ्चक खेलमा त्यसपछि दुबै टोलीले कुनै गोल गर्न नसक्दा सोहि नतिजा नै निर्णायक बन्यो ।
खेलमा आयोजकका गोलकर्ता दिपक राई म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया प्राप्त गरे ।

प्रतियोगितामा बिहीबारदेखि सेमिफाइनल खेल हुनेछन् । गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बिहीबार चर्च व्बाईज युनाईट काठमाण्डौ र व्बाईज युनियन क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाण्डौ, धरान फुटबल क्लब सुनसरी, ब्वाइज युनियन काठमाण्डौ, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभित्ता ट्रेनिङ सेन्टर झापा गरी जम्मा ८ टिम सहभागी भएका थिए ।

गोल्डकपको बिजेताले नगद ३ लाख १ हजार, उपबिजेताले २ लाख १ हजार ट्रफी र मेडल जित्ने छ ।फाइनल खेल कात्तिक १० गते हुनेछ ।