सुन्दरहरैँचा नगरपालिकाले तोक्यो देउसी भैलोको दक्षिणा, नियम उल्लंघन गरे कारबाही गर्ने चेतावनी

  • ७ कार्तिक २०७६, बिहीबार

सुन्दरहरैचा नगरपालिकाले तिहारमा खेलिने देउसी भैलोको दक्षिणाको रेट तोकिदिएको छ ।

मंगलबार बसेको ३८ औ कार्यपालिकाको बैठकले तिहारमा खेलिने देउसी भैलोको दक्षिणा रेट तोकेको हो ।

बुधबार एक सुचना नै निकालेर नगरपालिकाले १५ वर्ष उमेर समुहका बालबालिकाहरुको लागि बढीमा रु १०० , १५ वर्ष भन्दा माथिका देउसी भैलो ग्रुपलाई बढीमा रु ५०० , क्लब समुहलाई बढीमा रु १,१००, सस्थागत समुहलाई बढीमा रु २,१०० सम्मको दक्षिणा रेट निर्धारण गरेको हो ।

नगरपालिकाले नेपाली सस्कृति र परम्परा अनुसार उमङ्ग र हर्सोल्लासका साथ चाडपर्व मनाईरहंँदा आधुनिकताको नाममा सस्कृति , परम्परा, मर्यादा , अनुशासन विपरित अवाञ्छित गतिविधी हुन सक्ने भन्दै बेलुका १० बजेसम्म मात्र देउसी भैलो खेल्न आग्रह गरेको छ ।

नगरपालिकाले निर्धारण गरेको उक्त रेट र समय कसैले पालना नगरे प्रहरी प्रशासनबाट प्रचलित कानुन अनुसार कडा कार्वाही गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ ।

साथै नगरपालिकाले दिपावलीको समयमा दियो , मैनबती , पालाहरु बाल्ने एवम विधुतिय उपकरणहरु बाली दिपआवली मनाउंँदा आगजानी जस्ता विपदका घटनाहरु घट्न सक्ने भएकोले सो तर्फ समेत सचेत हुन नगरवासीहरुमा आह्वान गरेको छ ।

नगरपालिकाले देउसी भैलोको रेट निर्धारण गरेपछि मिश्रित प्रतिक्रिया आएका छन् । धेरैले सो निर्णयको स्वागत गरेपनि कतिपयले नगरपालिकाले उर्दी शैलीमा रेट तोकेको भन्दै आलोचना गरेका छन् ।