बेलबारीमा नोबेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप हुँदै, ८ मुलुकका ६ सय सहभागी हुने

  • २२ कार्तिक २०७६, शुक्रबार

मोरङको बेलबारीमा यहि मंसिर ६ गतेदेखि ८ गतेसम्म नोवेल अन्तराष्ट्रिय करांँते च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ  ।
आयोजक सितोरियो करांँतेे एसोसिएसन (बेलबारी डोजो) ले शुक्रबार बेलबारीमा पत्रकार  सम्मेलन गरी सो जानकारी दिएको हो । प्रतियोगितामा नेपालका साथै भारत, वंगलादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, मलेसिया र इराक गरी आठ देशका करिव ६ सय खेलाडीहरूको सहभागिता रहने छ ।

बेलबारी नगरपालिका १ स्थित नेपाल तमु बुद्धिष्ट गुम्वा परिसरमा हुुने प्रतियोगिता विश्व कराते संघ (डब्लु.के.एफ) को नियम अनुसार हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ २५ केजीदेखि ३० केजी, ३० देखि ३५ केजी, ३५ देखि ४० केजी, ४० देखी ४५ केजी, ४५ देखी ५० केजी, ५० देखी ५५ केजी, ५५ देखि ६१ केजीसम्मको पुरुष समूहका खेलाडीहरूले भाग लिनेछन् ।

त्यसैगरी महिलातर्फ २५ केजीदेखी ३० केजी, ३० देखि ३५ केजी, ३५ देखी ४० केजी, ४० देखी ४५ केजी, ४५ देखी ५० केजी, ५० देखी ५५ केजी, ५५ देखी ६० केजी र ६० देखी ६७ केजीसम्मका खेलाडीहरूले सहभागिता जनाउने आयोजकले जनाएका छन् ।

सो प्रतियोगिताका च्यापियनले एक लाख, टिम दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ  पाउने आयोजक संस्थाका अध्यक्ष संजय  सुवेदीले बताए  ।

प्रतियोगितामा खेलाडीहरूले ८५ गोल्ड, ८५ सिल्भर र  एक सय ७० वटा ब्राउड गरी ३ सय ४० मेडल  पाउने छन् ।

प्रतियोगिताका लागि २१ लाख २३ हजार ६ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसका लागि नोबेल अस्पताल बिराटनगरले आधा रकम प्रायोजन गर्नेछ भने अन्य रकम स्थानीय स्तरमा र प्रबासमा रहेका ब्यक्तिहरुबाट जुटाउने आयोजकको योजना छ । बेलबारी नगरपालिकालाई पटकपटक सहयोगको लागि आग्रह गरेपनि हालसम्म कति सहयोग गर्ने भन्ने टुंगो लागिनसकेको कराँते प्रशिक्षक तथा आयोजक संस्थाकी  कुन्ती गुरुङले बताइन् ।

चार दिनसम्म प्रतियोगिता हुने भनिएपनि पहिलो दिन ६ गते सबै खेलाडीहरूको तौल नाप्ने लगायतका पुर्व तयारीका काम हुनेछन् । खास प्रतियोगिता भने मंंसिर ७ र ८ गते हुने र मंसिर ९ गते कार्यक्रम समापन गरिने आयोजक संस्थाले जनाएको छ ।

बेलबारीमा निकै बर्ष अघिदेखि विभिन्न स्तरका सितोरियो करांँते प्रतियोगिता हुँदै आएको छ ।