अंग्रेज सेनालाई जितेको सम्झनामा राइड थ्रु सिन्धुलीगढी चल्दै, २०४ जना साइकल यात्रामा 

  • ९ मंसिर २०७६, सोमबार

 राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा शुरु भएको छ ।
साइकलयात्राको पर्यटनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ मन्दिर परिषरबाट उद्घाटन गरे ।समृद्ध सिन्धुली अभियानले हरेक बर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस बर्ष उल्लेख्य सहभागिता रहँँदै  आएको छ ।  राइड थ्रु सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार साइकल
यात्रामा १६७ जना साइकलयात्री सहभागी  छन् । त्यसमा पुरुष १ सय ४८ जना र महिला १८ जना छन् ।
यात्रामा सहयोगी सहित  २ सय ४ जना सहभागी छन् ।
यस बर्ष संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्र संघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिला यात्रीको संपूर्ण खर्च बेहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए ।
समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न चार बर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ । राइड थु्र सिन्धुलीगढीलाई ब्राण्डिङ गरेर विदेशीलाई समेत सहभागी गराउने गरी साइकल यात्रा थालिएको घिमिरेले बताए । यस बर्ष संयुक्त राष्ट्र संघ, ब्रिटिस काउन्सिल जस्ता अन्तराष्ट्रिय संस्था हाम्रो साइकलयात्रासँग जोडिएका छन्, आयोजक समृद्द सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले भने, हाम्रो साइकलयात्राले अन्तराष्ट्यि पहिचान पाएको छ । यो नेपालीहरुका लागि गौरवको कुरा हो ।
संयुक्त राष्ट्र संघले लैङ्गिक विभेद बिरुद्धको १६ दिने अभियानकै सन्दर्भ पारेर यात्रामा महिला सहभागिता बढाउन साइकल यात्रीलाई प्रायोजन गरेको हो ।
यस बर्ष मंसिर ९ गते (नोभेम्बर २५) देखि लैंगिक विभेदविरुद्धको अभियान सुरु हुँदैछ । पहिलो बर्ष सिन्धुलीगढीसम्म लगिएको साइकल यात्रा दुई बर्षदेखि जनकपुरसम्म विस्तार गरिएको छ । यस बर्षको साइकल यात्रा मंसिर ६ गतेदेखि ९ सम्म ४ दिनको छ । साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउँदै आएको छ । साइकल यात्रामा अभियानले प्रदेश नम्बर ३ सँग सहकार्य गरेको छ ।
राइड थ्रु सिन्धुलीगढी साइकल यात्रालाई विश्व साइकलयात्री पुस्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गरेका छन्  ।  अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएको साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तह, संघ संस्था, सेना, प्रहरी, विद्यालयहरुले खाजा, पानी, स्वास्थ्य शिविरलगायतको ब्यवस्था गरेर भब्य स्वागत गर्ने कार्यक्रम
छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिकाले मंसिर ७ गते साइकल यात्रीको स्वागतमा सुनकोशी महोत्सव समेत आयोजना गरेको छ । साइकल यात्री पहिलो दिन सिन्धुलीको मुलकोटमा बास बस्दा भब्य सांस्कृतिक कार्यक्रम गरिएको छ ।
दोस्रो दिन साइकल यात्रीको स्वागतमा जुनार उत्पादन क्षेत्र सिन्धुलीको खनियाँखर्कमा जुनार महोत्सव गरिएको  छ । त्यहाँ प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले साइकलयात्रीको स्वागत गर्नुका साथै जुनार महोत्सव उद्घाटन गरेका छन् ।   साइकल यात्रीले ऐतिहासिक सिन्धुली गढी पुगेर त्यहाँका सम्पदाको अबलोकन पनि गरेका छन् । त्यहाँबाट सिन्धुलीमाढी झरेर साइकल यात्रीहरु सिन्धुली कला घरले गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी भएका छन् । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । त्यहाँ २ नम्बर प्रदेश सरकारका उच्च अधिकारीहरुले साइकलयात्रीलाई स्वागत गर्ने कार्यक्रम छ । चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्नेछन् ।
अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्ने छ ।
तत्कालीन अंग्रेजी फौजलाई गोर्खाली सेनाले परास्त गरेको ऐतिहासिक स्थल सिन्धुलीगढीलाई संसारसामु चिनाएर पर्यटन प्रबर्धन गर्ने अभियानको योजना छ ।