चन्दा दिएकै भरमा ‘समाजसेवी’ र ‘वरिष्ठ समाजसेवी’ कहलिन्छन् पैसावालाहरु

  • १३ मंसिर २०७६, शुक्रबार

प्रसंग १ – दशैअघि निकै निराश मुद्रामा रहेका एकजना बेलबारीका वडाध्यक्ष भेटिए । सामान्य गफगाफ पछि यो चाँहि कसैलाई नभन्ने र नलेख्ने शर्तमा बोलेको भन्दै उनले आफनो पिडा सुनाए । के गर्नु हप्तामा कम्तिमा ३ देखि ४ वटा कार्यक्रम आफनै वडामा,टोलमा आयोजना हुन्छन,चन्दा दिनै पर्यो । नदिए धम्की मात्र होईन भोलिका दिनमा हेरौँला भन्दै धम्की नै दिन्छन । चन्दा दिउँ भने आफै परिवार चलाउन समस्या छ, नदिउँ भने समाजबिरोधी भईन्छ । चन्दा पनि आफनो खुसीले दिन पाईँदैन,उनीहरुकै माग अनुसार दिनुपर्छ ।
चुनावमा भएको खर्च अझै उठाउन सकिएको छैन । घर परिवार चलाउन उस्तै समस्या छ,अब त अलिअलि भएको जग्गा पनि बेचेर ऋण तिर्ने अबस्था सिर्जना भएको छ । अब त जनप्रतिनिधि उठन् पनि चेतियो । जनताको सेवा गर्छु भनेर जनप्रतिनिधि भएको त चन्दा दिने बैँक जस्तै भईयो । कुराकानीका क्रममा उनले धेरैपटक यो कुरा हामीबिचको पिडा मात्र पोखेको है भनेपछि उनकै आग्रहमा उनको नाम र वडा खुलाउन उचित लागेन ।

प्रसंग २ – दशैअघि आयोजना भएको एक कार्यक्रममा अतिथि आसन ग्रहण गराउने क्रम चलिरहेको थियो । कार्यक्रम सञ्चालकले माईक्रोफोनको स्वीच अफ गर्न बिर्सिएका रहेछन । अध्यक्ष उनको छेउमा कानेखुसी गरे । तर माईक्रोफोन अन भएका कारण दर्शक दिर्घामा उनीहरुको कानेखुसी छरपष्ट भयो । माईक्रोफोनको संवादमा फलाना लाई अतिथि बोलाउनु भनेर अध्यक्षले भन्छन,सञ्चालकले लिष्टमा छैन त भन्छन,त्यत्तिकैमा अध्यक्ष जंगिन्छन,५ हजार चन्दा दिएको छ । नाम पनि बोलाउनु अनि भरै मायाको चिनो पनि दिनु । कार्यक्रममा उपस्थित दर्शक दिर्घामा हाँसोको फोहरा गुञ्जियो । अतिथि बसेकाहरु पनि कानेखुसी गर्न थाले, बिचरा ति ब्यत्तिको नाम बाचन भएपनि रातोपिरो हुँदै कार्यक्रमहल बाट बाहिरिए ।

प्रसंग ३ – बेलबारीको युवाहरुको एउटा समुह समाजमा आफुलाई प्रतिष्ठित दाबी गर्ने स्वघोषित एकजना समाजसेवीकोमा चन्दा माग्न गए । ती ब्यत्तिले खुलेरै भने चन्दा त दिन्छु तर् मेरो शर्त मान्नुपर्छ । उनीहरुले मुण्टो हल्लाए । उनको शर्त थियो । कार्यक्रममा आफुलाई प्रमुख नभए बिशिष्ट अतिथि बनाउनुपर्ने र सम्मान गर्नुपर्ने,आयोजक शुरुमा हच्किए पनि बाध्य थिए । कार्यक्रम आयोजना गर्नु थियो । पछि उनीहरुले सोही कुरामा सहमति जनाए । ती ब्यत्तिले सम्मान थापेरै छोडे,तर आयोजक मात्र नभएर सो घटना थाह पाउने आफै लाजले रातो भए तर ती ब्यत्ति सम्मान थापेर गजक्क पर्दै सामाजिक सञ्जालमा फोटो पोष्टयाए । र लेखे आज म धेरैै खुसी छु,मेरो योगदानको कदर भएको छ । त उनको योगदान समाजमा के छ,त्यो कि सम्मान दिनेलाई थाह छ कि लिनेलाई,समाजमा अरुलाई त के थाह र ?
यी पछिल्ला केही उदाहरणहरु मात्र हुन । यी उदाहरण नै काफी छन की हाम्रो समाज कता जाँदै छ र हामी के गर्दै छौँ भनेर,ईज्जत र प्रतिष्ठा भन्ने कुरा ५ हजार रकम तिर्दैमा आउने र पाउने चिज होईन । कुनैपनि क्षेत्रमा अबिचलित रुपमा बर्षौ त्याग र योगदान गरेका ब्यत्ति र ब्यत्तित्वहरुले यस्तो सम्मान पाउनुपर्ने हो । तर पछिल्लो समय केही रकम तिरेपछि सम्मान पाईन्छ । अर्कोतिर सम्मान पाउन क्षमता र दक्षता भएकाहरु भन्दा पनि कुनैपनि पार्टीमा आबद्ध भएका र आफुले भनेको मान्नेलाई सम्मान दिने आबञ्छनीय योग्यता जस्तै बनेको छ । मान,सम्मान,ईज्जत र प्रतिष्ठा सबै पैसामै पाईन थालेपछि राम्रो काम भन्दा पनि राम्रो दाम दिनुपर्ने र खराब काम गरेरै भएपनि दाम कमाउनुपर्ने अबस्था सिर्जना भएको छ ।
यो हाम्रो मनोदशा एक प्रकारको रोग जस्तै भएको छ । यो रोग बेलबारीको मात्र होईन । अन्य ठाँउमा पनि उस्तै देखिन्छ । पछिल्लो डेढ महिनामा बेलबारी अलि बाक्लो रुपमा कार्यक्रमहरु आयोजना भएका कारण ती कार्यक्रमहरु सम्पन्न गर्न आयोजकले खेलेको भुमिका र गल प्रयोगलाई भोलिका दिनमा अन्य कार्यक्रम आयोजकले पनि पच्छयाउँदै जाने र ५ हजार तिरेर अतिथि बन्ने क्रमले निरन्तरता पाउँदै जाने हो भने बेलको शहर बनाउने लक्ष्य लिएको बेलबारी जाल र झेलको शहर नबन्ला भन्न सकिन्न तसर्थ बेलैमा सबैले सचेत हुने बेला भएको छ । – बेेेतना दैनिक