पथरीका बृद्धबृद्धा र बेलबारीका महिलालाई डा. शर्माले गराइदिए निःशुल्क जाँच तथा उपचार

  • २४ भाद्र २०७९, शुक्रबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको पथरीशनिश्चरेका बृद्धबृद्धाहरुलाई गाउँमै मुटु तथा फोक्सो रोगको परीक्षण गराइदिएका छन् ।             नोबेलबाट बिशेषज्ञ डाक्टरहरुको टोली पठाएर डा.शर्माले बृद्धबृद्धाहरुलाई गाउँमै स्वास्थ्य परीक्षण तथा उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

डा.शर्माको योजना अनुरुप ज्येष्ठ नागरिकलाई लक्षित गर्दै शुक्रवार पथरीशनिश्चरे नगरपालिका–४ स्थित सोमबारेमा मुटु तथा फोक्सो रोग परीक्षण शिविर सञ्चालन गरिएको हो । शिविरमा स्थानीय १३७ जना बृद्धबृद्धाको मुटु तथा फोक्सो परीक्षण गरिएको छ । बृद्धबृद्धाको उपचारका लागि नोबेलका निर्देशक एवं मुटुरोग बिशेषज्ञ डाक्टर राजेश नेपालको नेतृत्वमा डाक्टरहरुको टोली शिविरमा पुगेको थियो । शिविरमा १२२ जना बृद्धबृद्धाको मुटुको जाँच इको गरिएको छ ।

जसमध्ये ५१ जना बृद्धबृद्धालाई थप उपचार गर्नुपर्ने देखिएकाले उनीहरुलाई आइतवार नोबेल अस्पताल ल्याइने नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइएको छ । डा.शर्माले बृद्धबृद्धालाई अस्पताल ल्याउँने, अस्पतालमा सम्पूर्ण उपचार निःशुल्क गर्ने र उपचार पश्चात घर पुर्याउँने व्यवस्था मिलाइदिएका हुन् ।

त्यस्तै बेलबारी नगरपालिका–१० स्थित धिमाल टोलमा शुक्रवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदिएर डा. शर्माले त्यहाँका स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेका छन् । नोबेल अस्पतालबाट स्त्रीरोग विशेषज्ञ डा. सीता घिमिरेसहितको टोली पठाएर डा. शर्माले त्यहाँका महिलाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गराउँने व्यवस्था मिलाइदिएका हुन् । शिविरमा २५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको प्रबन्धक दाहालले जानकारी दिए । त्यस्तै १११ जनाको भिडियो एक्सरे, ८७ जनाको रक्त परीक्षण र ४२ जनाको मुटुको जाँच (इसीजी) गरिएको छ । शिविरमा महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नोबेलले पूर्वी नेपालका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । जसबाट लाखौं बिरामीले निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा मोरङको बेलवारीका स्थायी बासिन्दा हुन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माको क्षेत्र पनि भएकाले मोरङको क्षेत्र नं. ३ मा अझ बढी स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको छ ।

सो क्षेत्रमा डा.शर्माले अहिले घर–घरमै डाक्टर पठाएर ‘एम्बुलेन्स क्याम्प’ पनि सञ्चालन गर्ने व्यवस्था मिलाइदिएका छन् । उनले बर्षौअघिदेखि सो क्षेत्रका बासिन्दालाई अवस्था हेरी नोबेलमा निःशुल्क र सहुलितमा उपचार गराइरहेका छन् । डा.शर्मालाई अहिले कांग्रेसले मोरङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेद्वारको रुपमा अघि सारेको छ । डा.शर्मा राजनीति र समाजसेवामा पनि सक्रिय छन् ।