बेलबारी, कानेपोखरी र सुन्दरहरैंचाका ६ स्थानमा निःशुल्क स्वास्थ्य शिविर

  • ७ आश्विन २०७९, शुक्रबार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधवार र बिहीबार मोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र सुन्दरहरैंचा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

अस्पतालले विहिबार बेलबारी, सुन्दरहरैंचा र कानेपोखरीका तीन स्थानमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

नोबेल अस्पताल सञ्चालक डा. सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ३, कानेपोखरी गाउँपालिका वडा नम्बर ५ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटा शिविरबाट ७ स्य २६ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार सुन्दरहरैंचा–१२ मा सञ्चालित शिविरमा ५७ जनाको इसीजी, ९७ जनाको रक्त परीक्षण, १०५ जनाको भिडियो एक्सरे र ११ जनाको दाँत उखेलिएको छ । नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहितको टोलीले शिविरमा ३४२ बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो ।

त्यस्तै, बेलबारी–३ मा पनि शिविर सञ्चालन गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ डा.सुसान्त कटुवाल नेतृत्वको डाक्टरहरुको टोलीले १ सय ९ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा आएका ८७ जनाको मुटुको जाँच ईको गरिएको छ ।

यता, कानेपोखरी वडा नम्बर ५ मा सञ्चालित शिविरमा २ स्व्य ७५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ४२ जनाको इसीजी, ११३ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको छ भने दाँतमा समस्या भएर आएका १७ जनाको दाँत फुकालिएको छ । शिविरमा नोबेलका स्त्री रोग विशेषज्ञ डा.तृप्ती यादव नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो ।

तीन वटै शिविरबाट थप उपचारका लागि ७९ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । रेफर भएका विरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउने र उपचार पश्चात घर पुर्र्याउने व्यवस्था मिलाइदिएको छ ।

बिपन्न विरामीलाई लक्षित गर्दै बुधबार बेलवारी वडा नंम्बर ८, कानेपोखरी वडा नम्बर ६ र सुन्दरहरैंचा वडा नम्बर ९ मा शिविर सञ्चालन गरिएको छ ।

नोबेल हस्पिटलले गरेका तीन वटा शिविरबाट एकैदिन ७ सय ३३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

कानेपोखरी वडा नं. ६ मा सञ्चालित शिविरमा २ सय ५३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी सुवेदी र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदी नेतृत्वको टोलीले विरामीको जाँच गरेको हो । त्यहाँ ७५ जनाको इसीजी, ९७ जनाको रक्त परीक्षण र १०५ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका ९ जनाको दाँत उखेलिएको छ भने थप उपचार गर्नुपर्ने २९ जनालाई नोबेल अस्पताल रेफर गरिएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गर्दै सुन्दरहरैंचा–९ मा पनि शिविर सञ्चालन गरिएको हो । शिविरमा उपचारका लागि १ सय ३७ जना विरामी आएका थिए । जसमध्ये १०२ जनाको मुटुको जाँच इको गरिएको छ । नोबेलका मुटुरोग विशेषज्ञ प्रा.डा.राजेश नेपाल नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो । शिविरबाट ४३ जनालाई थप उपचारका लागि अस्पताल पठाइएको छ ।

यता, नोबेलका स्त्रीरोग बिशेषज्ञ डा.रस्मी थापा नेतृत्वको टोलीले बेलबारी–८ मा आयोजित शिविरमा विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । उपचारका लागि ३४३ जना विरामी आएको सो शिविरमा ५७ जनाको इसीजी, १०२ जनाको ल्याबटेष्ट, १०७ जनाको भिडियो एक्सरे गर्नुका साथै ११ जनाको दाँत उखेलिएको छ । त्यहाँ उपचार हुन नसकेका ४२ जनालाई अस्पताल रेफर गरिएको छ ।

तीन वटै शिविरबाट थप उपचारका लागि ११४ जना विरामी अस्पताल रेफर भएका हुन् । उनीहरुलाई नोबेल अस्पताल सञ्चालक डा.शर्माले अस्पतालकै गाडीमा ल्याएर उपचार गरी घर पुर्याउने व्यवस्था मिलाइदिएका छन् । डा.शर्माले विपन्न विरामीलाई लक्षित गरेर बर्षौ अघिदेखि सो क्षेत्रमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् ।

नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्मा समाजसेवाका क्षेत्रमा सक्रिय छन् । समाजसेवी व्यक्तिको पहिचान बनाएका डा.शर्मालाई नेपाली कांग्रेस मोरङ क्षेत्र नं.३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वार बनाउँन सर्वसम्मत सिफारिससमेत गरेको छ ।