बेलबारी खानेपानीको साधारणसभामा प्रदेश मन्त्रीको आश्वासन : फिल्टर प्लाण्ट दिन्छौं

  • २२ आश्विन २०८१, मंगलवार

बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको छैठौँ बार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष किशोर कुमार कार्कीको अध्यक्षतामा सोमबार साधारणसभा सप्पन्न भएको हो ।
बेलबारी ३ स्थित संस्थाको भवन परिसरमै भएको कार्यक्रममा बेलबारी नगरपालिकाका पुर्व मेयर तथा प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, प्रदेश सांसद मान बहादुर लिम्बु, अर्की पदेश सांसद गीता तिम्न्सिनाको विशेष आतिथ्यता र बेलबारीका विभिन्न संघ संस्था का प्रतिनिधिहरुको आतिथ्यता थियो ।
साधारणसभाको अबसरमा संस्थाले विभिन्न महानुभावहरुलाइ सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा उर्जामन्त्री एकराज कार्कीले सम्मानपत्रद्वारा सबैलाई सम्मानित गरेका हुन् ।
सम्मानित हुनेहरुमा संस्थाको २ कट्ठा १० धुर जग्गामध्ये १ कट्ठा जग्गा दान गर्ने ज्ञानेन्द्र सुवेदी, खानेपानीको संस्थापक समितिका पादाधिकारीहरु अध्यक्ष कुल बहादुर थापा, उपाध्यक्ष धनमाया ओझा, सचिव चन्द्र सुब्बा, सह सचिव रामहरि कोइराला, कोषाध्यक्ष सदानन्द सुवेदी, तथा सदस्यहरु लक्ष्मीप्रसाद राइ, इन्दिरा कार्की, स्व. प्रकाश मादेन र स्व. ठक बहादुर गुरुङ छन् ।
साधारणसभाकै अबसरमा स्स्थापना कालमा आर्थिक सहयोग तथा सापटी दिने सनत कुमार ढकाल, ताराकुमार राइ, प्रताप थापा, अमर बहादुर सुवेदी, दुर्गाप्रसाद गौतम, राजकुमार लिम्बू र माधवराज थापा एवम् लालिगुराँस सहकारी, एकता साकोस, दिपज्योति साकोस, बागदेवी सामुदायिक वन र रमिते सामुदायिक वनलाई पनि सम्मानित गरिएको छ । त्यसैगरी उल्लेख्य सहयोग गरेको भन्दै बिध्युत प्राधिकरण बेलबारीलाइ पनि कदरपत्रद्वारा सम्मान गरिएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष किशोरकुमार कार्कीले अध्यक्षको प्रतिवेदन, सचिव मनकुमार गुरुङले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रिक्त बहादुर गुरुङले आर्थिक प्रतिवेदन र लेखा संयोजक दिपेन्द्र लामिछानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सरकारका मन्त्री कार्कीले बेलबारी खानेपानीका लागि प्रदेश सरकारको तर्फबाट फिल्टर प्लाण्टका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिक्रम सम्बत २०६० सालमा स्थपित बेलबारी साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले
बेलबारी १ नक्साल सिरानमा डिप बोरिङ प्रविधिबाट निकालेर ओभरहेड ट्यांकीमा जम्मा गरिएको पानी पाइपलाइन मार्फत बेलबारीको चारवटै वडाका उपभोक्ताहरुको घर घरमा पुर्याउँदै आएको छ । हालसम्म बेलबारी नगरपालिकाको वडा नम्बर १. २, ३ र ४ का उपभोक्ताहरुलाइ खानेपानी सुविधा उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष किशोरकुमार कार्कीले बताए । साधारणसभामा प्रस्तुत प्रतिवेदनका अनुसार बेलबारी १ मा ९ सय ३७, बेलबारी २ मा ६ सय ४७, , बेलबारी ३ मा १ हजार १ सय ९० र बेलबारी ४ मा ६८ गरी हालसम्म २ हजार ८ सय ४२ घरधुरीमा धारा जडान भैसकेको छ । आर्थिक बर्ष २०८०/०८१ को अबधिमा ३ हजार ५ सय मिटर पाइपलाइन बिस्तार भएको र २ सय ५५ वटा धारा जडान भएको संस्थाले जनाएको छ । – अम्बिका भण्डारी