गाउँमै सेवा पाएपछि जलजलाका कृषक दंग

  • ३० फाल्गुन २०७४, बुधबार

पर्वतको जलजला गाउँपालीका ४ फड्केढुङ्गामा भएको पशु स्वास्थ्य शिविर  शिविरबाट डेढ सय जना भन्दा बढी कृषक लाभान्वित भएका छन् ।

गाउँपालीकाको पशु सेवा शाखाले वडा कार्यालयमा आयोजना गरेको शिविरबाट गाउँपालीकाको २, ३ र ४ नम्बर वडाका १ सय ६९ घरधुरी कृषकहरुले सुबिधा पाएको शाखाका प्रमुख पशु चिकित्सक बिमल शर्माले जानकारी दिनुभयो ।

एक हजार ६८४ गाई, भैसी, भेडा, बाख्रा, हाँस, कुखुराका लागि निशूल्क औषधी वितरण गरिएको शर्माले बताउनुभयो । उहाँका अनुसार कृषकहरुलाई घरदैलोमै पशु स्वास्थ्य र औषधी उपचार सेवा उपलब्ध गराई पशुपंक्षिको स्वास्थ्यप्रती सचेत बनाउने उद्देश्यले शिवीरको आयोजना गरिएको हो ।

वडा अध्यक्ष भिष्म मल्लको अध्यक्षता, पशु सेवा प्राबिधिक नारायण आचार्यको सञ्चालनमा सम्पन्न भएको शिविरको गाउँपालीकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले उद्घाटन गर्नुभएको थियो । उपाध्यक्ष पुनले जलजलामा तरकारी, फलफुल, खाद्यबाली र पशुपालनको माध्यमबाट जनताको जिवनस्तर र आयआर्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कृषकको सुबिधाका लागि वडा स्तरमा परिचालीत प्राबिधिकका अलावा शिवीर सञ्चालन गरेर सेवा प्रवाह गरीने उहाँले बताउनुभयो ।

गाउँपालीकाले पशु विकासको क्षेत्रमा चालु आर्थिक वर्षमा ५२ लाख ५० हजार रुपैया बजेट बिनियोजन गरेको छ । दूध, मासु, अण्डाको उत्पादन वृद्धी गरी आत्मनिर्भर बनाउने, पोषणमा सुधार, आम्दानी र रोजगारी सिर्जना गर्न सघाउ पुग्ने कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । मिलनचोकमा रहेको पशु सेवा शाखा मार्फत पशुपालक कृषकहरुलाई ब्यवसायीक बनाउन, उत्पादन र गुणस्तर वृद्धी तथा बजारीकरणका लागि विभिन्न अनुदानका कार्यक्रमको समेत व्यवस्था गरिएको छ ।