एकै परिवारमा बाबु छोरी नै मिर्गौला पीडित, सहयोगको याचना

  • ८ भाद्र २०७५, शुक्रबार

झापाको गौरादह –९ दहगाउँको एक परिवारमा बाबु छोरी नै मिर्गौला पीडित भएका छन् ।

३८ बर्षिय बोधराज खनालका दुबै मिर्गौंलाले काम गर्न छोडेका छन भने ७ वर्षीया छोरी आयुषा समेत मृगौलाकै समस्याबाट पीडित छिन् । आर्थिक अवस्था कमजोर भएका बाबू बोधराजले रेडियो, टिभी मर्मतको काम गरेर गुजारा गर्दै आएका छन्  ।

२०७१ सालमा बोधराजकी आमाको मृगौला सम्बन्धि समस्याकै कारण मृृृत्युु भएको थियो । बृद्ध अवस्थामा रहेका बुबा भिमप्रसाद खनालले दुखेसो पोख्दै भने –  कहाँबाट पैसा जुटाएर छोरा र नातिनीको उपचार गर्ने ? नातिनीको उपचार गर्ने कि छोराको उपचार गर्ने ? जीवनको उत्तरार्धमा पुगेका बाबु त्यही पिरले रन्थनाउदै बसेेेेका छन् ।

गरिबीको पीडाले थिचिएको परिवारको यस्तो अवस्था देखेर गाउँलेे र छिमेकीहरु समेत पीडामा छन् । मलमपट्टी लगाइदिने सहयोगी हातहरुको खोजीमा छरछिमेकी र आफन्तजन पनि लागि परिरहेका छन् ।   यति धेरै पीडासंग भिमप्रसादकी बुहारी अर्थात  बाेधराजकी श्रीमति कमला साहस र धैर्यता बटुलेर जुधेकी छिन् ।

आफ्नो पति र छोरीको उपचार गराएरै छाड्ने अठोट उनीमा देखिन्छ । जस्तोसुकै पिर परेता पनि धैर्यताले काम लिन सकिन्छ भन्ने बिश्वास लिएकी कमलाले आफ्नो १० बर्षिय छोरा आदर्शको आँखा पुछ्दै सहयोगको अपेक्षा सुनाइन् । उनको उपचारमा सहयोग गर्ने महानुभावहरुले ९८१६३५६९२१ मा बिरामी बोधराजलाई सोझै सम्पर्क गर्न सक्नुहुनेछ  ।