सुधार गृहबाट जबर्जस्ती निकालिएका युवाको दुर्घटनामा मृत्यु, घटना रहस्यमय भएको आफन्तको आरोप

  • १९ पुष २०७५, बिहीबार

मोरङको कानेपोखरी ३ का ४० वर्षीय सूर्यबहादुर भट्टराईको बुधबार दुर्घटनामा परी मृत्यु भएको छ ।

भट्टराईलाई उनकी आमा र जेठा दाजुले जाँड रक्सीको लतबाट छुटाउन उर्लाबारी–४ स्थित जीवन बचाउ उपचार सेवा गृहमा भर्ना गरेका थिए । तर उर्लाबारी २ का वडाध्यक्ष र इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी प्रमुखको दवावमा सुधार केन्द्रबाट जबरजस्ती निकालिएका भट्टराईको केही दिनमै दुर्घटनामा मृत्यु भएपछि स्थानीय र आफन्तले घटनालाई रहस्यमय भएको बताउँदै आएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ प ८१७१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका भट्टराईलाई ठक्कर दिएको थियो । साइकलमा सवार भट्टराईको उपचारको क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले बताए ।

ठक्कर दिने मोटरसाइकल र चालक मोरङ उर्लाबारी सुनझोडाका गगन भनिने गंगाबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको बारे थप अनुसन्धान भईरहेको छ । चालक बाईकबाट नलड्नु र चोट पनि नलाग्नु भट्टराई भने ज्यान गुमाउनु रहस्यमय भएको स्थानीयको बुझाई छ । अत्याधिक रक्सी सेवन गरेर सुर्धान राखिएका भट्टराईको बुुधबार  साँझ दुर्घटनामा परि मृत्यु भएको हो ।

भट्टराईलाई आमा र दाजु नृपेन्द्र भट्टराईले सुधार्न गृहमा भर्ना गरेका थिए । तर उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना, उर्लाबारी वडा नम्बर २ का वडा अध्यक्ष राजन कडेल र दाजु पुष्कर भट्टराईको दवावमा धाकधम्की सहित जर्वरजस्ती छुटाइएको थियो । त्यसअनरुप यसअघि नै जीवन बचाउ उपचार सेवा गृह उर्लाबारीले पत्रकार सम्मेलन गरेर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिना र उर्लाबारी २ का वडाध्यक्ष राजन कुमार कडेलले कार्यलयमा आएर संस्थाका पदाधिकारीलाई धम्की दिएको बताएका थिए ।

राष्ट्रलाई नै सहयोग गर्दै आएको संस्थालाई निरुत्साहित गर्ने,अवाञ्छित रुपमा प्रभाव पार्ने ढङ्गले प्रहरी निरीक्षक तिम्सिना र वडाध्यक्ष कडेलले गत मङ्सिर २७ र २८ गते कार्यालयमा पुगेर धम्क्याएको बताएको गृहका अध्यक्ष सागर राईले बताए । राईका अनुसार उपचाररत भट्टराईलाई तत्काल छुटाउनका लागि कडेल प्रहरी निरीक्षकको सहयोग लिएर संस्थामा पुगेका थिए । संस्थाले बिना सरोकार बाला ब्यक्तिलाई उपचाररत विरामी जिम्मा लगाउन नमिल्ने जवाफ दिएको थियो । संस्थाका पदाधिकारीहरूले प्रहरी निरीक्षक तिम्सिनाको निर्देशन नमानेपछि तिम्सिनाले संस्थाका पदाधिकारीलाई मुद्धा लगाइदिने धम्की दिएका थिए ।
त्यसपछि संस्थामा सो घटनाले तनाब आएपछि परिवारको रोहवरमा गृहबाट निकालिएको थियो ।
गृहबाट निकालिएको केहि दिनमै दुर्घटनामा निधन हुनु रहस्यमय छ,अध्यक्ष सागर राईले भने ‘सुधार्न राखिएको मान्छे किन निकालियो, र लगत्तै त्यस्तो घटना भयो आर्चश्य लागेको छ । उनी गृहमा भएका भए त्यो घटना घट्ने थिएन,राईले भने । तर सुधार गृहले बन्धक बनाएको भनेर मिडियाबाजी समेत गरेर गृहलाई नराम्रो बनाउने काम भएको उनको भनाई छ ।

सुधार गृहमा अहिले २३ जनालाई राखिएको छ । गृहमा झापा, मोरङ, सुनसरीसहित भारतबाट समेत दुव्र्यसनमा लागेकालाई ल्याएर राखिएको छ । बिरामीको बानी व्यवहारमा सुधार ल्याउन परामर्शदाता समेत राखेर ‘काउन्सिलिङ’ गर्ने गरिएको छ ।
मृतकका जेठा दाजु नृपेन्द्र भट्टराईले भाईको अकालमा ज्यान गएकोमा दुख प्रकट गरे । सुधार गृहमा सुधार्न राखेकोमा दवावमा अरुले निकाले, फेरि रक्सी कसैले खुवाए वा खायो दुर्घटनामा ज्यान गुमाउन पुग्यो ।

भाईलाई सुधार्न आवश्यक थियो, तर किन निकालियो, रहस्यमय छ , आज दाहस्कार गरेर फर्किएका उनले भने, सत्यतथ्य बाहिर ल्याउने जिम्मा प्रसाशनको हो ।