केराबारी गाउँपालिकाद्वारा साढे तीन लाख बराबरका कृषि मेसिनरी तथा औजार बितरण

  • १९ पुष २०७५, बिहीबार

मोरङको  केराबारी गाउँपालिकाले कृषकहरूलाई साढे तीन लाख  बराबरका कृषि मेसिनरी, औजार तथा कृषिजन्य सामग्रीहरु बितरण गरेको छ ।

बिहीबार  केराबारी गाउँपालिका परिसरमा एक कार्यक्रम गरी गाउँपालिकाले ती सामग्री बितरण  गरेको हो । गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बु,, प्रमुख प्रसाशकीय अधिकृत पुण्यप्रसाद पौडेल लगायत केहि वडाध्यक्षहरु समेतको उपस्थितिमा एक कार्यक्रम गरी कृषि सामग्री बितरण गरिएको हो ।

बितरण गरिएका कृषि सामग्रीहरुमा घाँस काट्ने मेसिन (ग्रास कटर) १ थान, बिषादी स्पेयर पावर १३ थान, ८ फ्रेमको मह काड्ने मदानी १ थान, मकै छोडाउने मेसिन ( कन्सेलर) १ थान, धान झार्ने मेसिन (मिनि थेसर) १ थान र चिया टिप्ने मेसिन ३ थान छन् ।

गाउँपालिकाले विभिन्न कृषकलाई ब्यक्तिगत तथा संस्थागत रूपमा ती सामग्री बितरण गरेको हो ।  

केराबारी गाउँपालिका अन्तरगतको कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईका अनुसार चालुु आर्थिक बर्ष ०७५/०७६ को बजेटमा गाउँपालिकाले कृषि क्षेत्रमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सो मध्ये विभिन्न कार्यक्रम संचालन गर्ने क्रममा ५० प्रतिशत अनुदानमा मेसिनरी औजारहरु बितरण गरिएको उनलेे बताए ।

गाउँपालिकाका अनुसार कृषकहरुलाइ बिहीबार अनुदानमा दिइएका मेसिनरीहरु साढे ३ लाख रुपैयाँ बराबरका छन्  । जसमध्ये ५० प्रतिशत गाउँपालिकाले ब्यहोरेर ५० प्रतिशत छुटमा कृषकहरुलाइ ती सामग्रीहरु दिइएको बताइएको छ ।

गाउँपालिकाले यस अघि पनि कृषकहरुलाइ अनुदानमा पावर टिलर, हाते ट्याक्टर जस्ता मेसिनरी औजार बितरण गरिसकेको छ ।  त्यसैगरी विभिन्न वडालाइ बालीनाली तथा पशुपालनको पोकेट क्षेत्र घोषणा गरी कृषकहरुलाइ बीउ बिजन, बिरुवा, मेसिनरी सामान लगायत विभिन्न अनुदान दिदै आएको गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले बताए ।