पिच हुने भो भेडेटारदेखि रबि हुँदै इलामको रांके जोड्ने सडक, प्रधानमन्त्रीले गरे शिलान्यास

  • २१ पुष २०७५, शनिबार

धनकुटाको भेडेटारबाट ६ नम्बर बुधबारे  पाँचथरको रबि हुँदै इलामको रांके जोड्ने भेडेटार  रबि रांके सडक कालोपत्रे हुने भएको निश्चित भएको छ ।

धनकुटाको पर्यटकीय केन्द्र कोशी राजमार्गको भेडेटारबाट पाँचथर रबि हुदै इलामको रांंके भञ्ज्याङ्  जोड्ने सडक प्रधानमन्त्रीबाटै शिलान्यास भएपछि कालोपत्रे हुने पक्का भएको हो । यो सडकले तीन जिल्लाका आधा दर्जनभन्दा बढी गाउँपालिकालाई जोडेको छ ।

यो सडक एजिम बैंक अफ इण्डियाको ८७ प्रतिशत आर्थिक सहयोग र नेपाल सरकारको १३ प्रतिशत लगानीमा निमार्ण हुन लागेको हो । तीन बर्षमा कालोपत्र सम्पन्न गर्ने गरी

२ करोड ८८ लाख ८२ हजार १३ रपियाँ १० पैसा अमेरिकी डलर अर्थात  तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ को लागतमा एक सय तीन किलोमिटर बाटो पक्की सडकमा परिणत हुने छ । यो सडक निर्माणको जिम्मा एप्को इन्फ्राटेक प्रा.लि. लखनौ भारतले लिएको छ । ठेक्का सम्झौता समेत भइ सकेको छ ।

कोशी लोकमार्गको भेडेटारदेखि धनकुटाको सागुरीगढी र चौबिसे, इलामको माङसेबुङ र फाकफोकथुम र पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाउँपलिका भएर सो सडक बाटो मेची लोकमार्गको राँकेभञ्ज्याङ जोडिन्छ ।

धनकुटा लगायत तीन जिल्लाका ५ लाख भन्दा बढी जनता सो सडकबाट प्रत्यक्ष लाभान्वित हुने तथा यो सडक पीच भएपछि  यी क्षेत्रको आर्थिक समृद्धिमा प्रत्यक्ष टेवा पुग्ने यो सडक कालोपत्रे गर्न पहल गर्ने धनकुटाका पुर्व सांसद तथा नेकपाका केन्द्रिय सदस्य हेमराज भण्डारीले बताए । धनकुटाको भेडेटारदेखि ६ नं बुधबारे सम्मको ४४ किलोमिटर सडक यसअघि नै ग्राभेल भइ सञ्चालनमा छ भने बाँकी ६६ किलोमिटर बाटो भने ग्राभेल हुन बांकी  छ । सडकको ट्र्याक खुलेको ३ दशक भैसक्दा पनि स्तरोन्नती नहुँदा खासगरी बर्षा याममा  यो सडक आसपासका बासिन्दाले  निकै कष्ट व्यहोर्दै आएका छन् ।

सडकको स्तरउन्नती भएसँगै धेरै बजारको सम्पर्क सिधै तराईसँग जोडिनेछ । यो भेगमा उत्पादन हुने सब्जी, फलपूmल, दूध, चिया र अन्य उत्पादनले बजार पाउने भएपछि व्यापारिक कारोबार पनि बढ्ने पाँचथर उद्योग बाणिज्य संघ शाखा रबिका का.वा. अध्यक्ष दिनेश खनालले बताए । सडकको स्तरउन्नती नहुँदा दैनिक उपभोग्य र अत्यावश्यक वस्तु ढुवानीमा चर्को मुल्य तिर्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।

सो मोटरबाटोले भेडेटार, नाम्जे, धनकुटाको राजारानी ताल, सूर्योदय र सूर्यअस्त राम्ररी नियाल्न सकिने मिक्लाजुङ, जरिबुटे डांडा, पर्यटकीय क्षेत्र माङमालुङ यावाराङ झरना, बेहुली ढुंगा स्वर्गपुरी मन्दिर, कमलपोखरी, पौवाभञ्ज्याङ, सिलौटी जस्ता पर्यटकीय क्षेत्रलाई जोड्ने छ ।
तीनवटै जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको सो सडक पौष २० गते अर्थात शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले रबि पुगेर शिल्यान्यास गरेेेका छन्  ।  – (गणेश साम्पाङको सहयोगमा)