ऐतिहासिक बाघझोडा पोखरीको उत्खनन हुँदै, राज्यले उपेक्षा गरेको आरोप

  • ९ फाल्गुन २०७५, बिहीबार

अम्बिका भण्डारी, खोर्साने मोरङ / राज्यको उदासिनताका कारण जिर्ण र धराशायी बन्दै गएको मोरङको सुन्दरहरैंचा नगरपालिका १० स्थित खोर्सानेमा रहेको पुरातात्त्विक र एेतिहासिक बाघझोडा सिमसार पोखरीको उत्खनन शुरु गरिएको छ ।

राष्ट्रपति चुरे संरक्षण परियोजनाले दिएको १५ लाख रुपैयाँबाट पोखरीको जिर्णोद्वार र उत्खनन थालिएको हो । धेरै बर्षदेखि अतिक्रमणमा परेको पोखरीको स्वामित्वमा रहेको जग्गा अमिन ल्याएर नापजाँच गरी छुट्याइएपछि हाल जेसिबी र डोजर लगाएर पोखरी खन्ने काम भइरहेको हो ।

केही दिनयता पोखरीको उत्खनन र बिस्तारको काम भएपनि बजेट अभावका कारण जिर्णोद्वारको काम अलपत्र हुने अबस्था रहेको पुर्व सांसद तथा बाघझोडा सिमसार तथा पर्यटीकीय क्षेत्र संरक्षण समितिका अघ्यक्ष चन्द्र बहादुर गुरुङले बताए । नगरपालिकाले पनि  कुनै सहयाेग नगरेकाे भन्दै गुरुङले जनप्रतिनिधिहरु आफैले वुझेर यस्ता क्षेत्रकाे संरक्षणमा वजेट छुट्याउनु पर्नेमा देखेर पनि नदेखे झैँ गरिरहेकाे आराेप लगाएका छन् ।

सुन्दरहरैंचा नगरपालिकाले चालू आर्थिक बर्षमा पर्यटन बिकास तथा पुर्वाधार निर्माण शिर्षकमा हसिना सिमसार, भुल्के सिमसार, किच्चक गढ बाघझोडा मगाथान आदि पर्यटन क्षेत्रको पुर्वाधार बिकासका लागि २० लाख बिनियोजन गरेको छ तर  बाघझोडा सिमसारको लागि सम्बन्धित पक्षबाट योजना माग नभएकोले बजेट बिनियोजन नभएको सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ ।

त्यसो त लामो समयदेखि माघझोडा पोखरी संरक्षण एवम् प्रबर्द्धन समितिको पुनर्गठन र बिस्तार समेत हुन सकेको छैन । २०६१ सालमा दर्ता भएको संस्थाको समितिमा एउटा टोलका सिमित मानिसहरु मात्रै रहदै आएको  र संस्थाको समितिले पनि बजेट बिनियोजन गराउन नगरपालिका लगायतका निकायहरुमा पहल नगरेकोले बाघझोडा पर्यटकीय क्षेत्रको लागि पर्याप्त बजेट बिनियोजन नभएको सुन्दरहरैंचा वडा नम्बर १० का एक जन प्रतिनिधिले बताए ।

केही बर्षअघि गुरुङ सांसद भएका बेला सांसद बिकास कोषबाट बाघझोडा पोखरीको दक्षिणी क्षेत्रमा बांध निर्माण गरिएको थियो । प्रसस्त पानी भएको सिमसार पोखरीको

बांध निर्माणपछि गत असोजमा स्थानीय बासीको लगानी र सक्रियतामा ३५ जनासम्म अट्ने फलाम र प्लास्टिकले निर्मित डुङ्गा समेत बनाएर संचालन गर्न थालिएको थियो । तर पुरिएको र सांघुरो पोखरी तथा पोखरीको बिचमा ठाउँ ठाउँमा भएका रुखका ठुटाका कारण डुङ्गा सञ्चालन असहज बनेको थियो । पर्यटकहरुलाइ लक्षित गरी पोखरीमा डुङ्गा सञ्चालन गरिएको भएपनि खासगरी पोखरीको सरसफाइका लागि डुङ्गा उपयोगी भएको बाघझोडा सिमसार तथा पर्यटीकीय क्षेत्र संरक्षण समितिका अघ्यक्ष  गुरुङले बताए ।

बाघझोडा सिमसार तथा पर्यटकीय क्षेत्रले करिब १५ बिघा क्षेत्रफल ओगटेको छ । जसमध्ये ७ बिघा जमीन मात्रै बिधिवत रूपमा बाघझोडा पर्यटकीय स्थलको स्वामित्वमा दर्ता र हस्तान्तरण भएको  गुरुङ बताउँछन् । पाेखरीकाे वरिपरि तारघेरा गरिए पनि संरक्षण हुन नसक्दा ती भत्किएकाे अवस्थामा छन् ।

हाल पोखरीको दायाँबायाँको भाग खन्ने र पोखरीभित्र ठाउँ ठाउँमा भएका ठुटा निकाल्ने काम भइरहेको छ । बाघझोडाको करिब १५ बिघा क्षेत्रमध्ये आधाभन्दा बढी क्षेत्र पोखरीले ओगटेको छ । पोखरीको पानीले पहिले ६० बिघासम्म खेती सिंचाइ हुने गरेकोमा हाल करिब २० बिघा जमीनमा सिंचाइ हुने गरेको स्थानीय खेम प्रसाद निरौलाले बताए ।

योजना अनुसार झण्डै दुई किलोमीटर लामो र पाँच सात सय मीटरसम्म चौडाइ भएको पोखरीको उत्खनन सकिएमा पोखरीको बिचमा एउटा अग्लो टापु रहनेछ । जसमा डुङ्गा चढेर मात्रै पुग्न सकिनेछ ।

स्थानीय बासिन्दाका अनुसार पहिले त्यस क्षेत्रमा प्रसस्त बाघ पाइने र पोखरीबाट बाघ निस्कने भएकोले त्यस क्षेत्रलाई बाघझोडा नामाकरण गरिएको एेतिहासिक कथन छ । पोखरी सिरानमा रहेको जंगल क्षेत्रमा मठ मन्दिर लगायत धिमाल, थारु, राई (साकेला) लगायत विभिन्न जातजातिका धार्मिक थानहरु समेत छन् । हरेक बर्ष बैशाख १५ का दिन बाघझोडामा धार्मिक मेला समेत लाग्ने गरेको छ । केही बर्ष अघि बाघझोडा पोखरी तथा आसपासका क्षेत्रमा सिमाला, तरवार र  युद्धमा प्रयोग हुने कवच जस्ता युद्ध सामग्री तथा विभिन्न पुरातात्त्विक बस्तुहरु समेत फेला परेका थिए । नेपाल सरकारले पत्राचार नै गरेपछि ती सामग्रीहरु पुर्वान्चल क्षेत्रीय संग्रहालय धनकुटामा बुझाइएको गुरुङले बताए ।

यो पोखरी पुर्व पश्चिम राजमार्गमा पर्ने खोर्साने चोकबाट उत्तरतिर करिब डेढ किलोमीटरको दुरीमा रहेकोे छ ।

मोरङकै एउटा एेतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको रमणीय बाघझोडा सिमसारको प्रबर्द्धन र संरक्षणका लागि स्थानीय, प्रदेश तथा केन्द्रिय सरकार र जनप्रतिनिधिहरुले समेत चासो नदिएको स्थानीय बासिन्दाको आरोप छ । नगरपालिकाले पनि बाघझोडाको संरक्षण तथा प्रबर्द्धनका लागि बजेट  बिनियोजन गरेको छैन ।