६ देशका मूर्तिकारहरुको सिर्जनाले आकर्षक बन्दैछ भाउन्नेस्थित सिर्जना पार्क

पार्क निर्माणका लागि ब्यबशायी पुरीले दिए १५ लाख

  • ११ फाल्गुन २०७५, शनिबार

विवेक मिश्र, भाउन्ने / मोरङ बेलबारी १० भाउन्नेमा अबस्थित सिर्जना सामुदायिक वन क्षेत्रको ३३ बिघामा बन्न लागेको  पार्कलाई आकर्षक, कलात्मक र अन्तर्राष्ट्रिय स्तरको बनाउन ६ देशका मुर्तिकारहरु जुटेका छन् ।करिव ५० वटा मूर्तिहरु निर्माण गरिने अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आगामी फागुन २१ सम्म चल्ने छ ।  धनु आर्ट स्टुडियोले संयोजन गरेको कार्यशालामा पार्कभित्र राखिने मूर्ति निर्माणका लागि ६ देशका ३० जना मूर्तिकारहरु प्रस्तावित सिर्जना पार्क निर्माण स्थलमै  धमाधम मूर्ति निर्माण गरिरहेका छन् ।

धनु आर्ट स्टुडियो तथा  सिर्जना सामुदायिक वन र बेलबारी नगरपालिका समेतको आयोजना तथा सहयोगमा  फागुन ४ गतेदेखि जारी मूर्तिकला कार्यशाला फागुन २१ गतेसम्म चल्नेछ । फागुन २१ गते यसै क्षेत्रबाट निर्वाचित संघीय सांसद तथा कानुन मन्त्री भानुभक्त ढकालले प्रारम्भिक चरणको मूर्तिकला कार्यशाला समापन गर्ने कार्यक्रम छ ।

भारत, बंगलादेश,श्रीलंका, जापान, जर्मनी र इटालीका मूर्तिकारले आ-आफ्नै परिकल्पना र अबधारणा अनुसार आकर्षक र कलात्मक मूर्ति निर्माण गरिरहेका छन् ।  पुर्व पश्चिम राजमार्गमै जोडिएको पार्कलाई आकर्षक गर्न पहिलो चरणमा मूर्तिहरू बनाउने काम भएको आयोजकको भनाइ छ।

पाँच बर्षभित्र निर्माण भइसक्ने सृजना पार्कको कुल लागत करिब २ करोड  हुने अनुमान गरिएको छ । प्रदेश सरकार, बेलबारी नगरपालिका, सृजना सामुदायिक वन, संघ संस्था, ब्यवसायी र स्थानीय बासिन्दाको सहयोगमा पाँच बर्षभित्र सिर्जना पार्कको निर्माण गरिसक्ने योजना  छ ।

पार्क निर्माणका लागि ब्यबशायी पुरीले दिए १५ लाख मूर्तिकला कार्यशाला भइरहेको सिर्जना पार्क निर्माणका लागि सहयोग जुट्न थालेको छ ।  पार्क निर्माणका लागि दि रिभर ओभरसिजका सञ्चालक समेत रहेका उद्योगी/व्यवसायी रघु पुरीले १५ लाख आर्थिक सहयोग गरेका छन् । पार्कका संरक्षक समेत रहेका पुरीले  मोरङका ओझेलमा परेका कला र संस्कृति र पर्यटकीय गन्तव्यलाई उजागर गर्न आफुले सो सहयोग गरेको बताए ।