बेलबारी नगरपालिकाद्वारा धिमाललाई प्रथम जाति घोषणा, धिमाल वृद्धवृद्धा पनि सम्मानित

  • ३० फाल्गुन २०७५, बिहीबार

मोरङको बेलबारी नगरपालिकाले धिमाल जातिलाई पहिलो जाति घोषणा गरेको छ ।

बेलबारी नगरपालिकामा बिहीबार एक कार्यक्रम गरी धिमाललाई पहिलो जाति घोषणा गरिएको हो । नगरपालिकास्थित आदिवासी जनजाति सभाहलमा आयोजित ‘धिमाल प्रथम जाति घोषणा तथा अभिनन्दन समारोह’ मा धिमालहरुको उल्लेख्य सहभागिता रहेको थियो । त्यसमा पनि पुरुषभन्दा महिलाहरुको बाहुल्यता थियो ।

घोषणा समारोहका लागि धिमाल जाति बिकास केन्द्रको ब्यानरमा धिमाल जातिका महिला तथा पुरुषहरु विभिन्न झाँकी सहित लाइनबद्द भएर आएका थिए । घोषणा कार्यक्रममा उपस्थित धिमाल तथा अन्य जातजातिका मानिसहरु समेत ‘सेउपाखा’ भन्दै अभिनन्दन गरिरहेका देखिन्थे ।

नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, विभिन्न जातीय संगठनका प्रतिनिधि, सञ्चारकर्मी र विभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।
दुई सय वर्ष भन्दा अगाडि देखिनै बेलबारीमा बसोबास गरेको पृष्ठभुमिका आधारमा धिमाल जातिलाई पहिलो जातिको रुपमा घोषणा गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।  वि.सं. १८६२ देखिनै तराईका जिल्लाहरुमा धिमाल जातिको बसोवास रहेको किवदन्ती रहेको पाइन्छ । बेलबारीको ऐतिहासिक क्षेत्रका नाम समेत धिमाल जातिको नाम रहेको पाईन्छ । वि.स. १९३६ मा पूर्व माननिय कर्ण वहादुर धिमालका हजुरबुवा बैसार धिमालले वक्यौता  तिरेको भुमिकरको रसिदको प्रमाण समेत भेटिएको मेयर सुवेदीले बताए ।

बेलबारीका एक दर्जज ऐतिहासिक तथा पर्यटकिय क्षेत्रको नाम समेत धिमाल  भाषाबाट राखिएको छ । मैषाबारी, पर्ताघारी, भिन्दहा, बर्राडागी, बेलेवारी, तिनघोरे, माईनावारी, दोघरे, धारधार (धररा) तेलीकुरी, कालावञ्जार, वालाही, माटागाउँ, जुराकादेरा ,धेङ्ग्राधेङ्ग्रे, काकोम नलघारी, भाउन्ने,भाङ्घारी, दोन्द्राझोरा ,बेतईनी झोरा,चिसाङ झोरा आ  दि ठाउँको नाम पनि धिमाल भाषाको नामबाट राखिएको किवदन्ती छ ।

धिमाल जातिहरुले विषमाला गछ, काथीमाला, हासुलिपात, हरी, कलि, कुण्डल, नादोइ, नाकमुुन्दि, कानाईला, चन्द्रहार, पाउजुजस्ता गहरगहना लगाउने गरेका छन् ।
धिमाल जातिको खानाको परिकारहरुमा अल्गै चिचिरी,तोले, पटुवाको साँग, लेउमुन्ची सिकाउति , चुदूर  माखालाई, क्याहाम आदि छन्  । मुख्य वाजाका रुपमा ढोल,उर्नीतुञ्जाई, गुमाना, ठ्यापठ्यापे, घाघुरिङ बाजा आफैले बनाउने र बजाउने गरको धिमाल जाति विकास केन्द्र बेलबारीका प्रमख कविन्द्र धिमालले बताए ।  

बेलबारीमा धिमाल जातिको ३ हजार १ सय ८२ जनसख्या रहेको छ । उक्त जनसख्या बेलबारीको कुल जनसख्याको को ४ दशमलव ५८ प्रतिशत हो  ।बेलबारीको कुल जनसख्या ६९ हजार ४ सय ९८ रहेको छ ।

 नगरकार्यपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले धिमाल जातिलाई प्रथम जाती घोषणा गर्ने आधार सहितको कार्यपत्र प्रस्तुत गरेका थिए । नगरकार्यपालिकाको निर्णय अनुसार प्राचीन कालदेखि बसोबास गर्दै आएका धिमाल जातिलाई प्रथम जाति घोषणा गरिएको सुवेदीले बताए । बेलबारीमा पहिलोपटक बसोबास गर्ने धिमाल जाति रहेको प्रसस्त आधार रहेको र धिमाल भाषाबाटै  कैयौं स्थानको नामाकरण भएको सुवेदीले बताए ।

धिमाल जाति बिकास केन्द्रले धिमाल जातिलाई पहिलो जाति घोषणा गर्न माग गर्दै गत बर्ष नगरपालिकामा कार्यपत्र पेस गरेको थियो । सोही अनुसार नगरकार्यपालिकाको २०७५ असोज १ गतेको बैठकले धिमाल जातिलाई प्रथम जातिको मान्यता दिने निर्णय गरेको थियो ।

नगरपालिकाले बिहीबार नै धिमाल जाति बिकास केन्द्रलाई पहिलो जातिको प्रमाण-पत्र समेत दिएको थियोे । बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र पुर्व सांसद हर्कामान तामाङले केन्द्रको नगर कार्यसमितिका अध्यक्ष कबिन्द्र धिमाललाई प्रमाण-पत्र प्रदान गरेका थिए । सो अबसरमा नगरपालिकाले धिमाल जातिका दुई जना जेष्ठ नागरीकलाई समेत सम्मान गरेको छ ।८७ बर्षिया बनाइ धिमाल र ९१ बर्षिय पृथिलाल धिमाललाई  जनही पाँच पाँच हजारका दरले नगद सहित दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

कार्यक्रममा बोल्दै धिमाल जाति बिकास केन्द्र बेलबारीका अध्यक्ष कबिन्द्र धिमालले लोहोन्द्रा, चिसाङ, बेलबारी, बलुइ, माटीगाउँ, जुरा जस्ता स्थानहरुको नामाकरण धिमाल भाषाबाट नै गरिएको र कतिपय स्थानहरुको नाम अपभ्रंस भएको बताए । उनले धिमाललाई प्रथम जाति घोषणा गरिएकोमा धन्यवाद दिए ।

नगरपालिकाले पहिचान गरेर धिमाल जातिलाई प्रथम जाति घोषणा गर्दा स्थानिय सरकार छ भन्ने आदिवासीहरुलाई प्रभाव परेको आदिवासी जानजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राईले बताए । धिमालहरु नै नगरको पहिलो आदिवासी भएको उनले बताए ।

कार्यक्रममा शिक्षक महासंघ बेलबारीका अध्यक्ष गोबिन्द भण्डारी, नेकपा बेलबारीका नगर संयोजक इरन राई, जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राई, पुर्व सांसद हर्कमान तामाङ लगायतले बोलेका थिए ।