एउटै बिद्यालयका सात शिक्षक एकै पटक अवकास, बिद्यालय सञ्चालनमै समस्या

  • ५ चैत्र २०७५, मंगलवार

विवेक मिश्र, बेलबारी, मोरङ / एक सामुदायिक बिद्यालयमा ७ जना शिक्षकले एकै समयमा बिद्यालयवाट अवकास भएपछि पठन पाठन तथा वार्षिक परीक्षा संचालनमा समस्या भएको छ ।

धिरनाथ सम्फुल विश्वास माध्यमिक बिद्यालय बेलबारी १० का ६ जना अस्थाई शिक्षकहरु शिक्षा सेवा आयोगले लिएको परिक्षामा अनुर्तिण भएपछि उनिहरु स्वत अवकास भएका थिए । यस्तै बिद्यलायका शिक्षक भिम वहादुर बिष्टले राजिनामा दिएपछि एकै साथ सात जना शिक्षकले पठन पाठन गर्ने विषय खाली भएका छन् ।

कक्षा १२ सम्म अध्यायन हुने उक्त बिद्यालयमा निम्न माध्यमिक तहका ३ जना र प्राथमिक तहका ३ जना अस्थायी शिक्षक स्थाईको परिक्षामा अनुतिर्ण भएका छन् । निम्न माध्यमिक तहका केशव प्रसाद आचार्य, भोलानाथ खतिवडा,प्रदिप राजवंशी तथा प्राथमिक तहका हेम लक्ष्मी श्रेष्ठ,सुसिल कुमारी राजवंशी, तिथलाल राजवंशी परिक्षामा अनुतिर्ण भएपछि बिद्यालयमा पठन पाठन गर्न समस्या भएको प्रध्यानाध्यापक पुर्ण कोईरालाले बताए ।

वार्षिक परीक्षा तथा नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दा शिक्षक अभाव भएको छ । सात जना शिक्षकले बिद्यालय छाड्दा एकै पटक ४ घन्टी खाली भएको प्रध्यानाध्यापक कोईरालाले बताए । वार्षिक परिक्षा संचालन गर्न समेत समस्या भएको उनले बताए ।

‘परीक्षा संचालन गर्दा बिद्यार्थी निगरानी गर्ने शिक्षक समेत अभाव भएको छ’ कोईरालाले भने ‘शिक्षकको पदपुर्तिका लागि  नगरपालिकासंँग माग गरेका छौ ।’

बिद्यार्थीहरुले पठन पाठन गर्ने पाठ्य सामग्री अन्तरगतको किताव भने पढाई सकिएपछि परीक्षा हुुने भएका कारण पठन पाठनमा भने अहिले समस्या नभएको उनले बताए ।

सो स्कुलमा हाल ४ जना निम्न माध्यमिक, ५ जना प्राथमिक, ५ जना माध्यमिक र २ जना उच्च शिक्षा पढाउने शिक्षकहरु छन्  । त्यहाँ  नयांँ शैक्षिक कार्यविधि अनुसार आधारभुत तहमा ९ जना र माध्यमिक तहमा ७ जना शिक्षक छन्  । ७ जनाले छाड्नु अघि आधारभुतमा १६ जना शिक्षक थिए ।

कार्यरत शिक्षकहरु फेल भएका कारण नगरपालिकमा २९ जना शिक्षक खाली भएको बेलबारी नगरपालिका शिक्षा शाखाका प्रमुख जीवन गडतौलाले बताए । शिक्षक खाली भएको विषयमा विभागमा जानकारी गराइ सकिएको नगरपालिकाले जनाएको छ ।