धरानबाट मुलघाट हुँदै फलामेटारसम्म चल्न थाल्यो बस, चौबिसेका स्थानीयबासी दङ्ग

  • २४ चैत्र २०७५, आईतवार

धनकुटा/ सुनसरीको धरानबाट धनकुटाको मुलघाट हुँदै चौबिसे गाउँपालिकाको फलामेटारसम्म बस चल्न थालेेको छ ।
फलामेटारमा धरानदेखि फलामेटारसम्म नियमित बस सेवा सुरु भएको हो । गाउँमा सार्वजनिक बस चल्न थालेपछि स्थानीयले बाजागाजा र भोज भतेरसहित खुसियाली मनाएका छन् । तमोर करिडोरको मुलघाट-फलामेटार खण्डमा बस सञ्चालनको पूर्व सांसद भण्डारीले यसैहप्ता उद्घाटन गरेका छन्  ।
मुलघाटदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म ट्रयाक खनिएको तमोर कोरिडोरको मुलघाट-फलामेटार खण्डमा बस सञ्चालन हुन थालेको पूर्व सांसद हेमराज भण्डारीले बताए । माझी जातिको बसोबास रहेको भैंसे क्षेत्रसम्म बस सञ्चालन गर्न सडक व्यवस्थापन कार्य भइरहेको भण्डारीले बताए। पूर्वी पहाड हुँदै छोटो दूरीबाट चीनको तिब्बतसम्म जोड्ने करिडोरको तमोर नदीको किनारमा यातायात सञ्चालनमा आएसँगै स्थानीयवासी खुसी भएका  छन् ।
पूर्वी पहाडका धनकुटा, पाँचथर, तेह्रथुम र ताप्लेजुङ जिल्लालाई तराईका जिल्लासँग जोड्ने सबैभन्दा छोटो मार्ग तमोर करिडोर अन्तर्गत पाँचथरको सदरमुकाम फिदिम बजारदेखि धनकुटाको मुलघाटसम्म साना सवारी साधन सञ्चालनमा आएको भने एक वर्ष बढी भइसकेको छ। तीन घण्टाभन्दा बढी पैदल यात्रा गरेर मात्र सवारी चढ्न पाउने स्थानीयवासीको घर छेउबाटै सवारी सञ्चालन भएसँगै स्थानीयस्तरमा उत्पादित तरकारी, फलफूललगायतका वस्तु बजारसम्म पुर्‍याउन समेत सहज भएको फलामेटारका महेन्द्र न्यौपानेले बताए ।

चालकलाई पैसाको माला

फलामेटारमा पहिलो पटक बस पुर्‍याउने चालक भीम राईलाई पैसाको मालासहित अबिर र फूलमालले स्थानीयले स्वागत गरेका छन् ।

गलाभरी पैसाको माला पहिरिएका राईले कच्ची सडकमा मुस्किलले बस पुर्‍याएको भए पनि स्थानीयको खुसीले ऊर्जा मिलेको बताए। धरानबाट करिव ५० किलोमिटर दूरीमा रहेको फलामेटारमा करिब तीन घण्टा लगाएर बस पुर्‍याएको उनले बताए ।

धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ पूर्व सभासद भण्डारीले २०६५ सालमा सांसद विकास कोषको ८ लाख रुपैयाँ रकम छुट्याएर कुरुलेतेनुपा-बुढिमोरङ उपभोक्ता समिति गठन गरेर सर्वे गरी काम सुरु गरेका थिए । त्यसपछि डा. बाबुराम भट्टराई अर्थमन्त्री भएको बेला एक करोड ५० लाख रुपैयाँ रकमान्तर गरी बजेट छुट्याउन सफल भएपछि सडक डिभिजन कार्यालय धनकुटाले त्यो सडकको विस्तृत सर्भे गरी काम अगाडि बढाएको पूर्व सभासद भण्डारीले बताए।
२०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारले त्यो सडक आयोजनालाई राष्ट्रिय योजनामा समावेश गरी राष्ट्रिय योजना अन्तरगत कार्य अगाडि बढी रहेको भण्डारीको भनाई छ। – इश्वर थापा