जनप्रतिनिधि र कर्मचारीका छोराछोरीले सरकारी स्कुलमै पढ्नुपर्ने नियम ल्यायो चौबिसे गापाले
- ४ बैशाख २०७६, बुधबार
धनकुटाको चौविसे गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि गाउँपालिकाबाट तलव भत्ता बुझ्ने शिक्षक कर्मचारीहरुले अनिवार्य स्थानीय सामुदायिक विद्यालयमा पढाउनु पर्ने निर्णय गरेको छ ।
गाउँपालिकाबाट सेवा सुविधा (तलव /भत्ता) लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीका छोराछोरी, नातिनातिनी एका घरका परिवारले अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने गाउँपालिकाले निर्णय गरेको हो । गाउँपालिकाले मातहतका वडा कार्यालय र शिक्षा समितिलाई परिपत्र गरी सो निर्णय कार्यान्वयन गर्न / गराउन निर्देशन पनि दिइसकेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राईले विद्यालयका प्रअहरुलाई बोलाएर निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको बताए ।
अध्यक्ष राईले हामी निर्णयलाई कार्यान्वयमा ल्याएर सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा स्थापित गर्ने बताए । सामुदायिक विद्यालयहरुको पठन पाठन तथा भौतिक पूर्वाधारहरुलाई पनि गुणस्तरीय बनाउनका लागि सबैपक्षको आवश्यक रहेकोले यो निर्णय गरेको अध्यक्ष राईले बताए ।
“यस गाउँपालिकामा परिवार सहित आएका कर्मचारीहरुको नानीहरुलाई पनि अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेका छौं, त्यसो हुँदा विद्यालयको संरक्षण र विकासमा सबैको उत्तिकै सभागिता र चासो बढेर जान्छ ” राइले अहिले चौविसे गाउँपालिकाको विद्यालयहरुको भौतिक पूर्वाधार र पठन पाठन पनि गुणस्तरीय बन्दै गएको छ । गाउँपालिकाको यो कदमलाई स्थानीय अभिभावकहरुले सकारात्मक रुपमा लिएका छन् । – ब्लाष्टको सहयोगमा