आइपीएलमा चम्किन थाले सन्दीप लामिछाने, बने ‘स्टाइलिस प्लेयर अफ द म्याच’

  • ८ बैशाख २०७६, आईतवार

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको चमत्कारिक खेलका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १२ औं संस्करणमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरेको छ ।

खेलमा दिल्लीका लागि सन्दीप लामिछाने सबैभन्दा सफल बलर बनेका छन् । शनिबार भएको खेलमा उनले ४० रन खर्चेर ३ विकेट लिए । सन्दिपले क्रिस गेल, केएल राहुल र साम करणको विकेट लिएका थिए । सन्दीपले पहिलो २ ओभरमा २७ रन दिएर १ विकेट लिएका थिए भने पछिलो २ ओभरमा १३ रन दिएर २ विकेट लिएका थिए । सन्दीपले स्टाइलिस प्लेयर अफ द म्याच बन्दै भारु एक लाख पुरस्कार पाएका छन्  ।

यो जितसँगै दिल्ली अन्तिम चार नजिक पुगेको छ । शनिबार भएको खेलमा  १ सय ६६ रनको विजय लक्ष्य पाएको दिल्लीले २ बल बाकी रहंँदै ५ विकेटको क्षतिमा सो विजय लक्ष्य पार गरेको हो । दिल्लीका कगिसो रबाडा र अक्षर पटेलले पनि २–२ विकेट लिएका थिए ।

यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ भने दिल्ली तालिकाको तेस्रो स्थानमा पुगेको छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।

दिल्लीको जितका लागि  कप्तान श्रेयस अय्यरले ४५ बलमा सर्वाधिक ५८ रन बनाएका थिए  । उनी म्यान अफ द म्याच बने । अय्यरले  जारी सिजनमा दोस्रो अर्धशतक  बनाएका हुन्  । यसपालीको आईपीएलमा यो १२ औं अर्धशतक हो । पृथ्वी शाहले १३ रन बनाउँदा शिखर धवनले ४१ बलमा ५६ रन , ऋषभ पन्तले ६ रन र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाएका थिए  ।

पहिले टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । पन्जाबका हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिएका थिए भने मोहम्द शमीले एक विकेट लिएका थिए । पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे । हरप्रित बरार २० रन बनाउँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाएका थिए  ।