धनकुटामा कोदालोको पासोले हानेर आफ्नै बाबुलाई मारे बालक छोराले
- १५ बैशाख २०७६, आईतवार
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा बालक छोराद्धारा बाबुको हत्या भएको छ।
सहिदभूमि गाउँपालिका ४ पिप्ले निवासी १४ वर्षीय बालक विज्ञान राईले शनिबार राति आफ्नै बुबा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजेतिर घरायसी विवादका कारण विज्ञानले उनका बुबालाई कोदालाको पासोले टाउकोमा प्रहार गरेको र इन्द्रबहादुर घटनास्थल मै मुत्यु भएको प्रहरी चौकी आखिँसल्लाका इन्चार्ज चुडामणी प्रधानले जानकारी दिए।
घटना भएको केही समयपछि छिमेकीको उजुरीका आधारमा प्रहरी चौकी आखिँसल्लाबाट पुगेको प्रहरी टोलीले विज्ञानलाई घरैबाट पक्राउ गरेर शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाएको प्रधानले बताए ।
यता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी सुरेन्द्र बहादुर गुरुङले हत्या के कारण भएको भन्ने बारेमा अनुसन्धान भइरहेको बताएका छन् । हत्या भएका इन्द्र बहादुरको शव पोष्टमार्टमका जिल्ला अस्पताल धनकुटा ल्याइएको प्रहरीले जनाएको छ।