राजमार्गमा गुड्ने सवारीको धुलोका कारण आक्रान्त छन् सुन्दरहरैंचाबासी
- १८ बैशाख २०७६, बुधबार
अघि अघि गाडी, पछि पछि धुलो । कहिले होला धुलो मुक्त शहर ? आज यो प्रश्नको उतर आम सुन्दरहरैंचाबासीले खोजिरहेका छन् ।
सुन्दरहरैचा नगरपालिकाले छोएका दुई निर्वाचन क्षेत्रबाट चुनाव जितेका दुवैजना सांसदहरु केन्द्रिय सरकारका मन्त्री भएपनि स्थानीय जनताले उनीहरूबाट ल्याएका योजना र परिवर्तनको महसुस गर्न पाएका छैनन् ।
लालबाबु पण्डित र भानुभक्त ढकाल दुई जना नै हाल केन्द्र सरकारको मन्त्री छन्। लालबाबु पण्डित संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री र भानु भक्त ढकाल कानुन न्याय तथा संसदिय मन्त्री छन् । तर दुइजनालाई मन्त्री बनाएको सुन्दरहरैँचाका नगरबासी हाल पुर्व पश्चिम राजमार्गमा गुड्ने धुलोका कारण आक्रान्त छन् ।
फोटोमा देखिएको दृश्य सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित सलकपुरको हो । चैत बैशाखको हावासंगै अहिले यहांँको वातावरणमा निकै प्रभाव परिरहेको छ ।
सडकमा हुइकिएर कुद्ने सवारि साधनले गर्दा उडेको धुलोले यहाको नगरवासिको स्वास्थ्यमा समेत असर पारिरहेको छ । सुन्दरहरैचाको सलकपुरमा मात्र हैन खोर्साने, विरटचौक, गोठगाउंँ, गछिया, बलिया जस्ता लोकमार्गले छोएका अधिकांश स्थानहरु अहिले धुलोले प्रभावित छन् तर राज्य पक्षबाट यसको समाधानमा कुनै चासो देखिएको छैन ।
हाल अहिले सुन्दरहरैचा नगरपालिकामा सडक ८२ फुट क्लियर गर्न अधिकांश चौकहरु फराकिलो बनाइएको छ तर फराकिलो बनाइएको भागमा कालोपत्रे नगरिदा उक्त स्थानबाट सवारी साधन कुदेर धुलोले मानव जीवनमा समेत प्रभाव पारिरहेको छ । त्यसमाथि पुर्व पश्चिम राजमार्गको पिच थप गर्ने काम भइरहेकोले पनि दायाँबायाँ सवारी कुद्दा अत्याधिक धुलो उड्ने गरेको छ ।
सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालले भने लोकमार्गको समस्या नगरपालिकाले हेर्न नमिल्ने भन्दै यसलाई केन्द्र सरकारले व्यवस्थापन गर्नुपर्ने बताए । – राज पोख्रेल