बुद्ध माविमा नयाँ प्रधानाध्यापक चयन, तर ब्यबस्थापन समितिका बहुमत सदस्यको उजुरी

  • १६ जेष्ठ २०७६, बिहीबार

अल्पमत सदस्यले छवि धमलालाई प्रधानाध्यापक बनाएको भन्दै मोरङ केराबारी ९ स्थित बुद्ध माध्यमिक विद्यालयको ब्यबस्थापन समितिका बहुमत सदस्यले केराबारी गाउँपालिकामा उजुरी दिएका छन् ।

सोमबार बसेको ब्यबस्थापन समितिको बैठकले छवि धमालालाइ प्रधानाध्यापक बनाउने निर्णय गरेपनि ब्यबस्थापन समितिको अल्पमतको निर्णयबाट प्रधानाध्यापक बनाइएकोले सो निर्णय अबैधानिक भएको भन्दै गाउँपालिकामा बुधबार उजुरी दिइएको हो । असहमति भनी दिइएको उजुरीमा ब्यबस्थापन समितिका सदस्य सचिव खगेन्द्र सुवेदी, सदस्यहरु मनोरथ लामिछाने, गोबिन्द बास्कोटा, मन्जु बिष्ट र जन प्रतिनिधि तथा पदेन सदस्य लिलादेवी दासले हस्ताक्षर गरेका छन् । त्यस बाहेक शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र दास, ब्यबस्थापन समिति सल्लाहकार लालबहादुर कार्की र आर्थिक संकलन संयोजक शिव लामिछानेले पनि सोही असहमति पत्रमा हस्ताक्षर गरेका छन् । असहमति पत्रमा अल्पमतको निर्णय मान्य नहुने कुरालाई नै केन्द्रित गरिएको छ ।

शिक्षा ऐन र मापदण्ड मिचेर प्राथमिक दरबन्दीका शिक्षकपाई प्रधानाध्यापक बनाइएको भन्दै सामाजिक संजाल फेसबुकमा समेत टिकाटिप्पणी र बिरोध भएको थियो । जेठ १० गते धमालाले ब्यबस्थापन समितिको बैठकमा आफुलाइ प्रधानाध्यापक बनाउन माग गर्दै ९ पेज लामो मागपत्र सहितको निवेदन दिएका थिए । त्यसै बैठकमा बहालवाला प्रधानाध्यापक खगेन्द्र सुवेदीले पनि राजीनामा पेस गरेका थिए । 

सुवेदीले राजीनामा पेस गरेपछि गत सोमबार बसेको ब्यबस्थापन समितिको बैठकमा ९ मध्ये ४ जनामात्र उपस्थित भएपनि साविक प्रधानाध्यापक खगेन्द्र सुवेदीले दिएको राजीनामा स्वीकृत गर्ने र मावि दरबन्दीका शिक्षक छवि धमलालाइ प्रधानाध्यापक बनाउने निर्णय भएको थियो । बैठकमा ब्यबस्थापन समिति अध्यक्ष भुपाल कार्की, सदस्य डिल्लीमाया सुवेदी, सदस्य तथा शिक्षक प्रतिनिधि कन्चन कुमार बुढाथोकी र आफू गरी ४ जनाको मात्र उपस्थिती रहेको सदस्य गोबिन्द बास्कोटा ( ज्ञानु) ले बताए । केराबारी ९ का वडाध्यक्ष र शिक्षकहरु बाहेक ब्यबस्थापन समितिका ५ जना अनुपस्थित भएको अबस्थामा सदस्य बास्कोटाले हतारमा निर्णय गर्न नहुने भन्दै असहमति जाहेर गरेर निर्णयमा सही नगरी बाहिरिएका थिए । उनी बाहिरिएपछि ३ जनाको निर्णयबाट धमलालाई प्रधानाध्यापक बनाइएको असन्तुष्ट पक्षको भनाइ छ । धमलालाइ बिहीबार पदस्थापन गराउने कार्यक्रम रहेको बताइएको छ । यसबारे विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष भुपाल कार्कीसँग प्रतिक्रिया लिन खोज्दा फोन उठेन ।

केही महिनाअघि विद्यालय ब्यबस्थापन समितिले साबिक प्रधानाध्यापक सरुवा भैई अन्यत्र गएपछि सुवेदीलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियोे ।  ब्यबस्थापन समितिमा प्रधानाध्यापक चयनको बिवाद कायम रहेपछि शिक्षकहरुको तलब निकासा लगायतका काम कारबाही प्रभावित हुने देखिएको छ ।