केराबारी गाउँपालिकाको चौथो गाउँसभामा ५० करोडको बजेट, बिकास निर्माण नै प्राथमिकतामा

गत बर्षभन्दा १८ करोड कमको आयो यसपालीको बजेट

  • ११ असार २०७६, बुधबार

क्षेत्रफलको हिसाबले मोरङको सबैभन्दा ठूलो स्थानीय तह केराबारी गाउँपालिकाको चौथो गाउँसभा अधिवेशनले  आ.व.०७६/७७ का लागि आधा अर्ब बजेट विनियोजन गरेको छ ।

मंगलबार हिमचुली सामुदायिक वन समुहको सभाहलमा भएको गाउँसभा अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) ले नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी हुन् । लिम्बूले  ५० करोड ३ लाख ३३ हजार ५ सय रुपैया बराबरको बजेट प्रस्तुुत गरेकी हुन्  ।

गाउँपालिकाले ‘पूर्वाधार मैत्री लगानी स्वरोजगार उन्मूख बिहानी’ भन्ने नाराका साथ प्रस्तुत गरिएको वार्षिक नीति तथा कार्यक्रममा भौतिक, सामाजिक, आर्थिक स्तरोन्नति गर्दै प्रत्येक नागरिकको सार्वजनिक सेवामा पहुँच अबिबृद्धि गर्ने लक्ष्य लिइएको छ ।

बजेटमा संघिय सरकारबाट ३३ करोड ७८ लाख, प्रदेश सरकारबाट १३ करोड ६७ लाख ३ हजार,आन्तरीक श्रोतबाट ६ करोड ३० लाख, सामाजिक सुरक्षा भत्ताबापत ७ करोड र विविध आम्दानीबाट अनुमानित १ करोड ५४ लाख ९० हजार रुपैयाको रुपैया प्राप्त हुने प्रक्षेपण गरिएको छ । संशोधित बजेटसहित गत बर्ष गाउँपालिकाको बजेट ६८ करोड १९ लाख १३ हजार थियो ।

यस्ता छन् नीति तथा कार्यक्रमका प्रमुख योजनाहरु गाउँपालिकाले अघिल्लो वर्षदेखि चलेका बहुबर्षे योजनाका रूपमा बेलबारी देवीझोडा केराबारी सडक कालोपत्रे, लाङघाली चोक दक्षिण डाँगी सडक कालोपत्रे, मुगुखोला कालापानी सडक कालोपत्रे, हुरहुरे खोला आरसिसि पुल आदिलाई राखेको छ । केराबारी गाउँपालिका वडा नं.४ को कार्यालय भवन निर्माण पनि  प्राथमिकतामा राखिएको छ ।

गाउँपालिका आ.व. ०७६/०७७ का लागि मंगलबारे हटियाको टहरा निर्माण, गाउँपालिकाको भवन निर्माणका लागि डिपिआर गर्ने नदिजन्य पदार्थ उत्खनन् तथा विक्री भएका क्षेत्रहरुमा जनताको माग बमोजिम आवश्यक्ता आधारमा तटबन्ध निर्माण गर्नेगरी प्राथमिकतामाबराख्न प्रस्ताव गरिएको छ ।

प्रत्येक वडाका लागि पूंँजीगत तर्फबाट खर्च गर्नेगरी सिलिङ बजेट गत वर्षभन्दा २० लाख रुपैया बजेट थपिएको छ । गत बर्ष वडाको  सिलिङ बजेट ६० लाख रहेकोमा अब ८० लाख पुगेको छ । गाउँपालिकाले क्षेत्रगत रुपमा पूर्वाधार विकासका नीतिहरु बनाई ,सिचाई, भवन तथा शहरी विकास,उर्जा,खानेपानी, पर्यटन संञ्चारक्षेत्रको विकासका लागि समेत आवश्यक बजेट बिनियोजन गरेको छ ।

चौथो गाउँसभामा प्रस्तुत् गरिएको नीति तथा कार्यक्रम अनुसार खदम खोलामा पुल निर्माणका लागि डिपिआरका गर्न आवश्यक बजेट विनियोजन गरिएको छ । निति कार्यक्रममा सार्वजनिक विद्यालयको गुणस्तर अभिवृद्धि गर्न कक्षा १ देखि क्रमश: अंग्रेजी माध्यमबाट कक्षा सुरुवात गर्ने योजना छ । राज्यकोषबाट तलब खाने शिक्षक कर्मचारीका छोराछोरीहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउन प्रेरित गर्ने नीति गाउँपालिकाले लिएको छ ।

निति कार्यक्रम र बजेटमा स्वास्थ्यमा आम नागरिकको पहुँच विस्तार गरी सेवालाई प्रभावकारी बनाउन यसैवर्षदेखि प्राथमिक स्वास्थ्य केन्द्र केराबारीमा एमविवियस डाक्टरबाट स्वास्थ्य सेवा पुरयाईने उल्लेख छ । खानेपानीको व्यवस्थापनका लागि एकिकृत योजना मार्फत बजेट कार्यान्वयन गर्ने, फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साईड पहिचान गरी स्वच्छ र सफा गाउँपालिका निर्माण गर्ने नीति तथा कार्यक्रम समाबेश गरिएको छ ।

संघीय सांसद घनश्याम खतिवडाले गाउँसभा अधिवेशन उद्घाटन गरेका थिए ।  गाउँसभा अधिवेशन उद्घाटन गर्दै खतिवडाले जनप्रतिनीधिहरु सेवक भएका हुनाले जनताको सेवा गर्नुपर्ने भएकाले सवै कर्मचारी र जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने बताए  ।

गाउँपालिका अध्यक्ष रोहित कार्कीको सभापतित्वमा सम्पन्न भएको गाउँसभामा नेपाली काग्रेसका केराबारी सभापति प्रकास बस्नेत, नेकपाका इन्चार्ज टेकवहादुर लिम्बु केराबारी ब्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह विक, खदम क्याम्पसका  प्रमुख टेकवहादुर थपलिया,  लगायतले शुभकामना ब्यक्त गरेका थिए ।