बर्षाले जलमग्न हुनथाल्यो पुर्वी तराई, बिराटनगरमा डुवान, कोशीमा खतरा

  • २६ असार २०७६, बिहीबार

लगातारको बर्षाका कारण प्रदेश १ को राजधानी बिराटनगर लगायत पुर्वी तराईका विभिन्न ठाँउहरु जलमग्न भएका छन् ।

बिराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरु पानीको सतह बढेपछि डुवानमा परेका छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।
वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहित प्रशासनिक भवनमा समेत पानी पसेको छ । ढलको निकास नगरी सडक अग्लो बनाइएकाले अस्पताल भित्र पानी पसेको हो ।  त्यस्तै ईमरजेन्सी कक्षमा समेत पानी पस्ने अबस्था आएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले जानकारी दिए । विराटनगरमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ ।
त्यसैगरी अविरल  वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । तीन दिन देखिको वर्षाले नदीमा पानीको बहाव बढेको हो । सप्तकोशीमा बिहीबार बिहान १० बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख १० हजार ९ सय सय क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । व्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी हो ।

सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
बिहीबार र शुक्रबार देशभर भारी वर्षाको कारण साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी गर्न सरकारले आह्वान गरेको छ । विशेषगरी तराई, सिवालिक र मध्य पहाडी क्षेत्रमा आगामी २०–३६ घण्टासम्म भारी वर्षा हुने अनुमान छ । जसका कारण नदी तथा खोलाहरुमा ठूलो बाढी आउने छ । तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह खतराको लेभलभन्दा माथि पुग्ने चेतावनी दिइएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार र शुक्रबार देशभर वर्षाको सम्भावना छ । बिहीबार राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।

हाल मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी छ ।