कुन पापीले फोड्यो लुम्बिनीमा रहेका सय किलोभन्दा ठुला पाँचवटा बुद्ध मुर्ति ?

  • ४ श्रावण २०७६, शनिबार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वुद्धको जन्मस्थल लुम्बिनी नजिकै गत  वर्ष राखेका सुनौला रंगका २२ वटा मूर्तिमध्ये  पाँचवटा मूर्ति तोडफोड गरिएका छन् ।

सिद्धार्थ राजमार्गको ६ लेन सडक अन्तर्गत शंकरनगर चोकदेखि नयाँ मिल खण्डमा रहेका २२ मुुुर्ति मध्ये पाँच तोडफोड गरिएका हुुन्।  एउटै मूर्तिको तौल १ सय १० किलो भएकोले सजिलै तोडफोड गर्न सक्ने अवस्थाका थिएनन् तर तोडफोडको प्रकृति हेर्दा घनले हानेर मूर्ति फोरे जस्तो देखिन्छ । फोडिएका केही मूर्ति सडकमा फालिएका छन् ।

विश्व शान्तिका प्रतिक वुद्धका मूर्तिहरु राष्ट्र संघका प्रमुख दुई निकायहरु आइसिजी हेग र युनेस्को मुख्यालय पेरिसमा पनि प्रतिस्थापन गरिएका छन । युनेस्कोले वुद्ध जन्मस्थल भएकै कारण लुम्बिनीलाई विश्व संपदा सूचिमा पारेको छ ।

वुद्ध जन्मस्थल लुम्बिनीको बिकासको लागि राष्ट्र संघ मार्फत नै दुई गुरु योजना बनिसकेका छन र लुम्बिनीको विकास र प्रबर्द्धनमा सहभागी हुने अबसर पाउनुलाई सौभाग्य ठान्नेहरु धेरै छन्।

लुम्बिनी कपिलवस्तु दिवस बिश्व अभियानले पनि एक बिज्ञप्ति प्रकाशित गर्दै विश्व शान्तिका प्रतिक वुद्धको जन्मभूमिमा वुद्धका मूर्तिहरु तोडफोड गरिनु धर्म, संस्कृति र मूल्यमान्यताको अपमान भएको जनाएको छ ।

अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले निकालेको बिज्ञप्तिमा धार्मिक, सांस्कृतिक सहिष्णुतामा आँच आउने र धार्मिक द्वन्द्वलाई निम्त्याउने गरी नियोजित रुपमा बुद्धको मूर्तिलाई तोडफोड गर्ने कार्यले विस्वमा नै नराम्रो सन्देश प्रबाह गर्ने भएकोले यो अत्यन्तै निन्दनीय एवं आपत्तिजनक भएको उल्लेख गरिएको छ ।

बुद्ध मूर्ति तोडफोड गर्ने जो सुकै भए पनि तत्काल पत्ता लगाइ कडा कारबाही गरिनु पर्नेमा अभियानले जोड दिएको छ ।