गर्नु गर्यौ घनश्याम तिम्ले ठगेर, दुनियाँको बिजोग भो कता गयौ तिमी भागेर ?

  • २९ श्रावण २०७६, बुधबार

साथीभाइ, आफन्त, ग्राहक र सर्वसाधारणसँगको कारोबार र सापटी अनि बैंकबाट ऋण समेत गरी  १० करोडभन्दा बढी रकम लिएका मोरङको बेलबारीका ब्यापारी फरार भएपछि धेरैजना मारमा परेका छन् ।

बेलबारीको फिल्म हल लाइनमा ओम कृष्णा सुनचाँदी पसल र पुरानो बेलबारीमा ॐ कृष्णा हार्डवेयर सञ्चालन गर्ने व्यापारी घनश्याम श्रेष्ठ झण्डै दुई सय सर्वसाधारणको पैसा लिएर फरार  भएका हुन् । श्रेष्ठ फरार भएपछि बेलबारी मात्रै होइन, आसपास क्षेत्रका चिया पसलदेखि अन्य ठाउँमा र मिडियाहरुमा समेत एक दुई हप्तादेखि  यही बिषयले चर्चा पाउन थालेको छ ।

श्रेष्ठले  सुन पसलमा आउने ग्राहकहरूसँग आकर्षक ब्याज दिने भन्दै दुई वर्षदेखि धितोमा राखेको सुन र बचत गरेको पैसा उठाएर एक/ डेढ महिनादेखि सम्पर्कविहीन छन् । श्रेष्ठले बेलबारीमा चलाएको हार्डवेयर पसल केही महिनाअघि नै बन्द भैसकेको छ भने हाल सुन पसल समेत बन्द  छ । कसैलाई घडेरी र जग्गा दिने कतिपयलाई  उद्योग खोलेर शेयर दिने प्रलोभन देखाई रकम उठाएर श्रेष्ठ फरार भएको पीडितहरूको गुनासो छ ।

सर्वसाधारणबाट प्रतिब्यक्ति ५० हजारदेखि ४२ लाख रुपैयाँसम्म उठाएर श्रेष्ठ फरार भएको पाइएको छ ।

हाल पीडितहरू पैसा फिर्ता पाउने आशमा नगरपालिका, प्रहरी र  जिल्ला प्रशासन कार्यालयसम्म धाइरहेका छन् । पीडितहरूले ठगिएको रकम फिर्ता गराइदिन माग गर्दै जनप्रतिनिधिहरूलाई समेत गुहार्ने गरेका छन् ।

पीडितहरूले सङ्घर्ष समिति नै गठन गरेर डुबेको पैसा फिर्ता गराउन हारगुहार गरिरहेका छन् । संघर्ष  समितिका अध्यक्ष मातृकाप्रसाद पराजुलीले ठगीमा परेको भन्दै सम्पर्कमा आउनेहरुको सङ्ख्या दिन प्रतिदिन बढिरहेको बताए ।  विभिन्न बहानामा ठगी गरेका पर्याप्त प्रमाणहरू भएपनि सहयोगको आश्वासन मात्र पाएको तर न्याय पाउने छाँँट नदेखिएको  बताए । उनले आफूबाट श्रेष्ठले भर्पाइ नै गरेर २० लाख रुपैयाँ लिएको लिएको बताए । पराजुलीले निक्कै लामो समयदेखि पसल नै बन्द गरेर श्रेष्ठ भागेपछि आफूहरू ठगिएको थाहा भएको बताए ।श्रेष्ठले एनएमबीलगायतका बैङ्कबाट पनि ऋण लिएको देखिएको पराजुलीको भनाइ छ । श्रेष्ठले पीडितहरूलाई सामाजिक सञ्जालमार्फत् श्रेष्ठले प्रहरीलगायतका निकायमा खबर नगर्न चेतावनी भने दिइरहेको बताए ।

श्रेष्ठले सुन्दरहरैंचाकी तुलसा प्रसाईंबाट ३५ लाख र बेलबारीकी सरस्वती दाहालबाट ४१ लाख १६ हजार रकम लगेका छन्  ।

पीडितहरुले श्रेष्ठलाई सम्पर्कमा ल्याएर आफूहरूको पैसा फिर्ता गर्न माग गर्दै उद्योग वाणिज्य सङ्घ बेलबारीमा पनि निवेदन दिएका छन्  । श्रेष्ठले एनएमबीलगायतका बैङ्कबाट पनि ऋण लिएको बताइएको छ ।

मोरङका प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउँजुले पीडितले उजुरीको सट्टा जाहेरी दिए ठगी मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई सजिलो हुने बताए । लेनदेन घटना प्रहरीले नहेर्ने भएकोले ठगी  मुद्दा प्रहरीले अनुसन्धानको दायरामा ल्याउने उनले बताए ।