सहारा काण्डमा संलग्नता नरहेको प्रतापको दाबी, डम्बर भन्छन् ‘संचालकले मेरो बदनाम गराए’
प्रताप भन्छन् "पैसा खाएकाे कसैले पुष्ठी गरे म झुण्डिन तयार छु ।"
- १५ भाद्र २०७६, आईतवार
केशु विरही, बेलबारी, माेरङ/ सहाराकाे जग्गा व्यक्तिकाे नाममा पास गरिएकाे र पछि फेरि सहाराकाे नाममा आएकाे विषय र त्यसकाे संलग्नताकाे विषयलाई लिएर निरन्तर रुपमा चर्चापरिचर्चा भैरहेका छन् ।
झन् पछिल्लाे समय सामाजिक संजाल सहारामय भएकाे छ । याे विषयले सर्वाधिक व्यापकता पाएकाे छ । साहाराकाे विषय र त्यसमा संलग्न व्यक्तिलाई लिएर व्यापक विराेधले भैरहँदा, आफू संलग्न नै नरहेकाे विषयमा नाम जाेडेर आफूलाई सिद्धाउने काम भएकाे भन्दै बेलबारीका प्रताप थापाले आइतबार पत्रकार सम्मेलन गरेर साे कुरामा आफ्नाे ध्यानाकर्षण भएकाे बताएका छन् ।
पत्रकार सम्मेलनमा बाेल्दै थापाले सहारा पुनर्जिवित हाेस् भन्ने आफ्नाे शुभेच्छा रहेपनि संस्थाकाे नाममा रहेकाे जग्गा विक्री कार्यमा आफ्नाे कुनै संलग्नता नरहेकाे बताए । तर नभएकाे विषयमा भ्रम फैलाएर आफू र आफ्नाे सामाजिक जीवनलाई समाप्त गर्न सुनियाेजित प्रयास भैरहेकाे उनले बताए ।
साथै उनले याे विषयलाई अनावश्यक राजनीति गरिएकाे, नेकपाका कै केही जिल्ला तथा स्थानीय नेताहरु लागेकाे बताउन समेत पछि परेनन् । पत्रकार सम्मेलनमा बाँडिएको प्रेस बिज्ञप्तिमा सहारा काण्डमा बिबादित केही ब्यक्तिको बचाउ गरेको आशय प्रकट भएपछि त्यसको आलोचना समेत भएको थियो ।
आराेप पुष्ठी भए झुण्डिन तयार छु – थापा
पत्रकार सम्मेलनमा केही भावुक र अलि आक्रामक देखिएका थापाले पत्रकारहरुले साेधेकाे प्रश्नकाे उत्तर दिँदै भने – केही मानिसले सहराकाे जग्गाकाे विक्रीमा प्रताप थापाले १ कराेड खाएछ भन्ने आराेप लगाएका रहेछन् । जीवभरि म कहिल्यै पनि पैसाका पछि लागिन । समाज सेवा गरेरै मेराे याे उमेर भएकाे छ । मैले थुप्रै संघ संस्थालाई सहयाेग गरेकाे छु, सकेकाे दान पनि दिएकाे छु र दिईरहने छु । यदि कसैले सहारा वा अरु कुनै विषयमा पनि मैले पैसा खाएकाे पुष्ठी गर्छ भने म झुण्डिन तयार छु । हाेईन भने यसरी निराधार आराेप लाउन पाईन्न ।”
उनले यसरी जक्सन हाेटलमा भावुक अभिव्यक्ति दिइरहँदा त्यहाँ पत्रकारहरु मात्र थिएनन्, त्यहाँ विभिन्न क्षेत्रमा परिचित दुई दर्जनजति व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।
यसै विषयकाे सत्यतथ्य सार्वजनिक गर्न नेकपाद्वारा गठित छानविन समितिकाे प्रतिवेदन आउनै लागेकाे बेलामा पत्रकार सम्मेलन गरेर आफ्नाे धारणा सार्वजनिक गर्नु छानविनलाई प्रभावित पार्न खाेजिएकाे त हाेईन भन्ने प्रश्नमा थापाले यति ठूलाे सामाजिक विषयकाे अनुसन्धानमा एउटा पार्टीकाे मात्र सहभागिता रहेकाे छानविन समितिले ल्याउने प्रतिवेदनमा विश्वास गर्नुपर्ने अबस्था नरहेको बताए ।
साे पत्रकार सम्मेलनमा सहाराकाे जग्गा खरिद गर्ने ईटहरीका उद्याेग व्यवसायी डम्मर तामाङकाे समेत सहभागिता रहेकाे थियाे । तर त्यहाँ उनलाई भने कुनैै प्रश्न साेधिएन । केही ढिलाे आएका तामाङ पत्रकार सम्मेलनभर माैन देखिन्थे ।
सहारामा लगानी गर्न लगाएर आफ्नो बदनाम गराइएको डम्बरको दाबी
सहाराको जग्गाका खरिदकर्ता तथा आफ्नो नाममा पास भएको १० महिनापछि शुक्रबार संस्थाकै नाममा फिर्ता गरेका व्यवसायी डम्बर तामाङले सहारा काण्डका मुल शुत्रधार पुर्व सांसद हर्कमान तामाङ र बेलबारीका पूर्व गाबिस अध्यक्ष शिव बराल भएको बताए ।
उनले नजिकै बन्न लागेको फनपार्क संचालनको शिलशिलामा हर्कमान र बरालले उनीहरूको स्वामित्वमा रहेकोे सहारामा बहु आयामिक कृषि तथा तालिम र गार्मेण्ट परियोजना संचालन गर्ने प्रस्ताव ल्याएको र छलफलपछि जग्गा भाडाको सम्झौता गरेको बताए । परियोजना संचालनका लागि पाँच सात केभिएको विद्युत आवश्यक पर्ने तर जग्गा ब्यक्तिको नाममा नभएसम्म संस्थाको नाममा सो ट्रान्सर्फमर नआउने भएपछि सहमतिमा आफ्नो नाममा जग्गा पास भएको बताए ।
तर जग्गा आफ्नो नाममा आएपनि ट्रान्सर्फमर नआएपछि डेढ दुई महिनाअघि आफूले हर्कमान तामाङ र शिव बरालसँग लगानी फिर्ता गरी जग्गा फिर्ता गर्न प्रस्ताव राखेको तर उनीहरूले लगानी फिर्ता गर्नुको सट्टा इक्वायल पार्टनर बस्ने सहमति गरी तीन महिनाको समय मागेको बताए । तीन महिनामा पनि लगानीको हिस्सा नआएको र पत्रिकामा समाचार आएर संचालकहरुका कारण आफ्नो समेत बदनाम भएपछि केही समयपछि लगानी फिर्ता गर्ने कागज गराइ आफैंले राजस्व तिरेर जग्गा फिर्ता गरिदिएको बताए ।