मोरङमा बल्ल लागू हुन थाल्यो स्वास्थ्य बिमा कार्यक्रम

  • १७ भाद्र २०७६, मंगलवार

मोरङमा स्वास्थ्य बिमा दर्ता कार्यक्रम शुरु भएको छ ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई स्वास्थ्य बिमा कार्ड प्रदान गरेर आइतबार कार्यक्रमको सुभारम्भ गरे  ।

स्वास्थ्य बिमा संचालनका लागि मोरङमा १ सय ५९ जनालाई ३ दिने दर्ता सहयोगी तालिम प्रदान गरी कार्यक्रम शुरु  गरिएको स्वास्थ्य बिमा प्रदेश सह-संयोजक दुर्गा आचार्यले जानकारी दिए । स्वास्थ्य बीमाका लागि ६ महिना अघि नै अभिकर्ताहरु छनौट गरिए पनि बिमा दर्ता भने बल्ल शुरु भएको छ ।

स्वास्थ्य बीमा अनुसार ५ जनाको परिवारले ३५ सय रकम तिरेमा १ लाख सम्मको सेवा प्राप्त गर्न  सक्नेछन् ।मोरङमा रहेको १० लाख जनसंख्यामा आउने आर्थिक बर्षसम्म ४ लाखको बिमा गरिने योजना रहेको बिमा बोर्डले जनाएको छ ।

यस्तै ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक,कुष्ठरोगीको परिवार, एमडीआर टीबी भएकाको परिवार, एचआइभी संक्रमितको परिवार र पूर्णअपाङ्गता भएका परिवारले निःशुल्क रुपमा १ लाख सम्मको स्वास्थ्य बिमाबाट उपचार गराउन सक्ने छन्  ।