राजनीति छाडेर कुखुरा पालनतिर लाग्दै नेताहरु, बार्षिक लाखौंको कमाइ 

  • २९ भाद्र २०७६, आईतवार

केशु विरही, बेलबारी, मोरङ\ बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तिका डिल्ली पुरी लामो समयसम्म राजनीतिमा सक्रिय रहे । तर पछिल्लो समय उनी राजनीतिबाट विश्राम लिएर आर्थिक उपार्जनका काममा लागेका छन् । आर्थिक उपार्जन विनाको राजनीति संभव नहुने नदेखेरै आफू विगत डेढ सालदेखि कुखुरा पालनतर्फ आकर्षित भएको उनी बताउँछन् ।

डिल्ली तुलसी राम पुरी र रुपा पुरीका तीनभाइ छोरामध्ये जेठा छोरा हुन् । उनी वि.स. २०३८ सालदेखि बामपन्थी राजनीतिमा लागे । विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका उनी माले, एमाले हुँदै लामो समयसम्म माओवादीमा सक्रिय थिए । पछि एमाले र माओवादीविच एकीकृत भएर नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) बन्यो । यो विचमा उनले कुरा एकथोक तर काम भने अर्कैथोक हुने राजनीतिको अन्तरबस्तु राम्ररी बुझे । त्यसपछि उनलाई राजनीतिप्रति खासै विस्वास लागेन । त्यति लामो समयसम्म राजनीतिमा सकृय रहेका डिल्लीले अन्ततः अर्थनीति र त्यसको महत्वलाई बुझे र राजनीतिभन्दा अर्थनीतिलाई रोज्न पुगे ।

१७ लाख लगानी गरेर उनले घर नजिकैको आफ्नै दुई कठ्ठाजति क्षेत्रफलमा एउटा कुखुरा फारम खोले । नभन्दै उनले रोजेको बाटोले राम्रो परिणाम दियो । डेढ वर्ष अघि निर्माण गरेको फामबाट उनी अहिले सबै खर्च कटाएर वार्षिक ७ लाख जति आमदानी गर्दै आएका छन् ।

उनले राम्रो आम्दानी गरेको देखेर उनकै छेउमा डिल्लीका कान्छा भाइ रामले पनि यसपालिदेखि कुखुरा फारम सुरु गरेका छन् ।

उनले संचालन गरेको फाममा दुईजनाले प्रत्यक्ष रोजगार पाएका छन् । फारमको काममा दैनिक दुईजना मानिस खटिए पनि चारो खरिद तथा चल्लालाई औषधि लगाउने आदि काममा भने उनी आफै खटिन्छन् ।

यो कार्यमा आफूलाई घर परिवारले पनि मनग्गे सहयोग पुर्याउदै आएको उनी बताउँछन् ।

उनले कुखुरा फामका अलावा फारमको वरिपरि धान तथा अर्गानिक सब्जी खेती समेत गर्दै आएका छन् । अर्गानिक सब्जी खेतीले घरमा खान राम्री पुगेको उनकी आमा रुपा पुरी बताउंँछिन ।

उनले संचालन गरेको यो व्यवसायमा उनको पूरै परिवारको सहयोग र समर्थन रहेको छ । झन् अरुलाई भन्दा पनि उनकी श्रीमती गंगालाई श्रीमानले घरमै कुखुरा पालन गरेकोमा साह्रै खुसी लागेको छ ।

रानजीतिमा सक्रिय रहँदा सधैँ बाहिर बाहिर रहँने तर अहिले राजनीति छाडेर घरमै कुखुरा फारम
संचालन गरेपछि घरकै कममा व्यस्त रहँदा आफूलाई पनि खुसी लागेको डिल्लीकी श्रीमती गंगा बताउँछिन ।

हाल उनको फारममा कुखुरा किन्न स्थानीयदेखि लिएर धरानसम्मका व्यापारीहरु पनि आउने गरेका छन् । मासु खानेको सङ्ख्या दैनिक रुपमा वढ्दो रहेकोले उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको उनी बताउँछन् ।

राजनीतिमा रहँदा सधै बाहिरै मात्र रहने तर अहिले यो घरमै फारम संचालन गरे पछि भने विशेष कामले बाहिर जाने वाहेक बाँकी समय घरमै रहने उनकी श्रीमती गंगा पुरी बताउछिन् ।

त्यसो त जुनसुकै व्यवसायमा पनि समस्या तथा चुनौति हुन्छन् नै । अन्य मासुको मूल्य निश्चित रुपमा तोकिने भए पनि यसको भाउ चाहिँ डिलरले तोक्ने, उनीहरुले आफूलाई वढी नाफा राखेर मात्र भाउ तोक्ने हुनाले किसानले भनेजस्तो नाफा लिन नसकेको उनको ठम्याइ रहेको छ ।

त्यसो त पुर्व सांसद हर्कमानले पनि निकै बर्षदेखि लालभित्तिस्थित घरमै कुखुरा पालन गर्दै आएका छन् । लेयर्स कुखुरा पालन गरेका तामाङको फर्म हाल परिवारले सम्हाल्दै आएका छन् ।

आदर्शका कुरा परै छाडेर राजनीतिका नाममा वेतुकका गफ गरेर हिँड्नेले बेलबारीका यी पुरी र तामाङ लगायतबाट धेरै सिक्न जरुरी छ । तपाई पनि अब उनीहरू झैँ ब्यबशाय शुरु गरेर आय आर्जनको बाटोमा लाग्ने हो कि ?