निर्माण भएको एक महिना पनि नपुग्दै भत्कियो फुङलिङ बजारको कालोपत्रे

  • २४ आश्विन २०७६, शुक्रबार

ताप्लेजुङको फुङलिङ बजारमा रहेको  तोक्मेडाँडा हटियादेखि बुद्धचोक घुम्तीसडकको कालोपत्रे निर्माण भएको एक महिना पनि नपुग्दै भत्किएको छ ।

ठेकेदारको लापरवाहीका कारण आठ सय मिटर सडकमध्ये अधिकांश भागको कालोपत्रे भत्किएको हो । ठेकेदारले कार्य सम्पन्न गरेको भन्दै सहरी तथा भवन निर्माण आयोजना झापा भुक्तानी दिइसकेको छ । भत्किएको देख्दा देख्दै सघन सहरी तथा भवन निर्माण आयोजना पास गरेको स्थानीयको गुनासो छ ।

मैनाचुली निर्माण कम्पनीले गत असारमा पिच र ढलान गरेको थियो । ‘असारे झरीमा रातदिन नभनी कालोपत्रे गरे । उतिबेलै भत्कन थालेको हो,’ सडक छेउमा घर भएका मदन गौतमले भने । २ वटा सोलार बत्ति समेत बल्न छाडेको उनले बताए ।

निर्माण कम्पनीले मात्रा नमिलाइकन काम गरेकाले भत्किएको सडक रहेको वडा फुङलिङ नगरपालिका ४ का वडाध्यक्ष जितेन चेम्जोङले बताए । ‘पिच धेरै कमसल छ । २० सेन्टिमिटर गिटीको वेश नै छैन, त्यसैले भत्किएको हो,’ चेम्जोङले भने ।

निर्माण व्यावसायीले स्थानीय तहसँग समन्वय नै नगरी काम गरेको चेम्जोङको गुनासो छ । ‘सडकमा सिधै भलको पानी पस्छ र जम्छ, त्यहामाथि गाडी कुदेपछि भत्कन थाल्छ,’ स्थानीय विवेक राई भन्छन् ।

१५ महिनामा सक्नेगरी २०७४ असारमा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलाम ठेक्का लगाएको थियो । कार्यालयहरुको पुर्नसंरचनापछि केन्द्रले सघन शहरी तथा भवन निर्माण आयोजना झापालाई जिम्मा दियो । सम्झौतामा निर्माण कम्पनीले ३ करोड ७ लाखमा पिच गर्ने, केही स्थानमा ढलान गर्ने र ३५ वटा सोलार बत्ति जडान गर्नुपर्ने उल्लेख रहेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ ।

ठेकेदारले काम गुणस्तरहिन गरेको भन्ने आफूले जानकारी पाएको आयोजनाका इञ्जिनियर विनोद सिंह पनि बताउँछन् । उनले भने, ‘त्यो सडकको विषयमा यहाँ चिठी आएको छ । भदौ १३ गते निर्माण व्यावसायीलाई यथार्थ जानकारी दिन पत्र काटिसकेका छौँ ।’ – रेडियो ताप्लेजुङको सहयोगमा