मोरङका विभिन्न स्थानमा थपिने भए पाँचवटा प्रहरी चौकी, कहाँ कहाँ थपिँदैछन् थाहा छ ?
- ६ कार्तिक २०७६, बुधबार
मोरङका विभिन्न स्थानमा पाँचवटा प्रहरी चौकी थप हुने भएका छन् ।
मोरङमा जम्मा ९७ वटा विभिन्न खाले प्रहरी कार्यालयहरु रहेकोमा हाल ३१ वटा प्रहरी चौकी छन् । जिल्लामा १ हजार ३ सय २ जना प्रहरीको दरबन्दी छ। अब प्रहरी चौकीको संख्या ३६ पुगेको छ।
पाँचवटा प्रहरी चौकी थप भएसँगै ७५ जना प्रहरीको दरबन्दी पनि थप भएको छ। थपिएपछि प्रहरी दरबन्दी १ हजार ३ सय ७७ जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीका अनुसार लेटाङको बुधबारे, बुढीगंगा गाउँपालिकाको बासबारी, ग्रामथानको तेतरिया, कटहरीको कटहरी, जहदाको तारेगा प्रहरी चौकी थप हुने छन् ।
प्रहरी चौकी थपका लागि जिल्ला प्रहरी कार्यालय मोरङले संघीय सरकारसमक्ष माग गरेको थियो। तारेगामा यसअघि बिस्थापित भएको प्रहरी चौकी पुनस्थापना हुन लागेको र अन्य स्थानमा नयाँ प्रहरी चौकी स्थापना हुन लागेको प्रहरीले जनाएको छ । प्रत्येक चौकीमा १५ जनाको दरले दरबन्दी रहने छन् ।
चौकी थपका लागि संघीय सरकारबाट स्वीकृति प्राप्त भइसकेको र जग्गा प्राप्तिपछि चौकी निर्माण गरी संचालनमा आउने मोरङका प्रहरीले जनाएको छ । हालसम्म लेटाङको बुधबारे र भारतीय सिमाना छेउमा पर्ने जहदाको तारेगामा प्रहरी चौकीका लागि जग्गा प्राप्त भइ निर्माणको क्रममा रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी चौकी स्थापनाको माग गर्दै डेढ दर्जन बढी निवेदन परेका भएपनि प्राथमिकताका आधारमा हाललाई ५ वटा स्वीकृति भएको र अन्य चौकी पनि थप हुँदै जाने मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।