केशु विरही, आठराई खाम्लालुङ /गाउँमा केही हुँदैन भनेर दैनिक रुपमा सहरतिर भासिने र त्यतैतिर पलायन हुन क्रम वढिरहेको वेलामा खाम्लालुङका केही युवाहरु भने गाउँमै व्यवसायिक रुपमा खेती गरेर मनग्गे आम्दानी मात्र गरिरहेका छैनन्, पैसा कमाउन बाहिरै गैरहनु पर्दैन भन्ने एउटा गतिलो उदाहरण समेत दिन सफल भएका छन् ।
आठराई गाउँपालिका वार्ड नं २ खाम्लालुङका गजेन्द्र चोङवाङले हाल २५–३० रोपनी क्षेत्रफलमा किवी खेती गरेका छन् । ६ वर्ष अघि सुरु गरेको किवी खेतीबाट उनले गतवर्षदेखि मात्र आम्दानी लिन थालेका छन् । सुरुका वर्षहरुमा सामान्य रुपमा उत्पादन भए पनि यसवर्ष भने उनी गतिलै आम्दानी लिने सुरमा छन् ।
त्यसो त उनले किवी खेतीको अलावा अलैची खेती पनि गरेका छन् । अलैचीबाट पनि उनले मनग्गे आम्दानी लिइरहेका छन् । तर केही सालदेखि भने उनी व्यावसायिक किवीखेतीतर्फ अग्रसर भएका छन् । अलैची झैँ किवीखेतीबाट पनि राम्रो कमाई गर्न सक्ने सोचेरै आफूले यो खेती सुरु गरेको उनी बताउँछन् ।
उनी आफूले धानखेती मासेर व्यवसायिक खेती सुरुगर्दा केहीले आफूलाई पागलको संज्ञा दिएको तर पछि व्यावसायिक खेतीबाट राम्रो आम्दानी लिनथाले पछि भने आफ्नो निर्णयलाई सही ठानेर अरुले पनि आफूलेजस्तै व्यावसायिक खेती सुरु गरेको बताउँछन् ।
त्यस्तै खाम्लालुङ गैरीगाउँमा रमेश इस्बोको सात जनाको परिवार छ । जेठी छोरी विदेशमा होटलमेनेजमेण्टको अध्ययन गर्दै छिन भने अरुछोरीहरु पनि धरानमाबसेर अध्ययनरत छन् । ४० रोपनीजति क्षेत्रफलमा सुरु गरेको किवी खेतीको आम्दानीले उनलाई छोरीहरुलाई पढाउन ठूलो सहयोग पुर्याउँदै आएको छ ।
रमेशले लामो समयसम्मको धरानमा बसाई छाडेर पछिल्लो समय गाउँमै फिरेर व्यावसायिक खेती गरिरहेका हुन् । व्यावसायिक किवी खेतीले राम्रो आम्दानी दिने सोचेरै आफू गाउँमा फर्किएको रमेश बताउँछन् ।
यातायात र बजारको समस्या
तर यातायतको समस्या र बजारको उचित व्यवस्थापन हुन नसक्दा पुन गाउँबाट पलाउन पो हुनु पर्ने हो कि भन्ने रमेशको चिन्ता छ ।
यातायातका कारणले उत्पादनलाई बजारमा लैजान जति समस्या छ किवीलाई असिनाबाट बचाउँन पनि उत्तिकै कठीन रहेको बताउँछन् ।
गाउँमा बाटो त पुगेको छ तर वर्षायाम र पानी परेको बेलमा पैदल नै हिँड्नु पर्ने वाध्यता रहेको छ । यतायात नियमितता नहुँदा पनि आफूहरुले उत्पादन गरेका सामग्रीहरुले उचित बजार नपाएको खाम्लालुङका गजेद्र चोङ्गवाङ बताउँछन् ।
स्थानीय सरकारले महत्त्व नदिएको गुनासो
स्थानीय पालिकाले कृषिलाई त्यति महत्व नदिएको कृषकहरुको गुनासो छ ।
नेपालाई कृषिप्रधान देश भनिए पनि कृषि पेसामा लाग्ने मानिसलाई न राज्यले महत्व दिएको छ न समाजले नै । सर्वप्रथम त कृषि पेसामा लाग्ने मानिसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु जरुरी छ । साथै राज्यले कृषिलाई उचित बजेटको व्यवस्थापन गर्न नसके ‘कृषि प्रधान देश हो’ भन्ने नारा ब्यर्थ हुने देखिन्छ ।
त्यस्तै टाढाको सरकारले दुरदराजका जनताका आवस्यकता थाहा पाएन वा पाएर पनि महत्व दिएन भनेर नै देशमा सङ्घियताको अवधारणा आएको हो । अहिले देशमा तीन तहको सरकार विद्यमान छ ।
स्थानीयस्तरका आवश्यकता तथा जनताका चाहना वुझ्ने मूख्य दायित्व भनेको स्थानीय सरकोरको हो । तसर्थ अव स्थानीय सरकाले आफ्नो क्षेत्रमा हुने व्यावसायिक खेतिको लागि वातावरण बनाउनु पर्छ । गाउँमा केही हुँदैन भनेर सहरतिर हुने पलायनलाई रोक्ने ठोस योजना ल्याउनु पर्छ ।
आठराई गाउँपालिका वार्ड नं २ का वडा सदस्य गोपी ढुङ्गाना भने अघिल्ला वर्षहरुमा गाउँपालिकाले कृषिमा उचित बजेट छुट्याउन नसकेको स्वीकार्छन । तर उनी यसवर्षको बजेटमा भने राम्रै रकम कृषिमा छुट्याएको बताउँछन् ।