घरबार नै चौपट भयो भन्दै रोजगारीका लागि कतारतिर लागे क्रिकेट संघ सुनसरीका अध्यक्ष

  • १७ कार्तिक २०७६, आईतवार

क्रिकेट खेलाडीहरुको संस्था सुनसरी क्यानका अध्यक्ष चेतनाथ पौडेल (सीपी पौडेल) वैदेशिक रोजगारीको लागि कतारतिर उडेका छन् ।
 शनिबार राती १० बजेको उडानबाट उनी कतार लागेका हुन् । इटहरीमा रहेर लामो समयदेखि क्रिकेट क्षेत्रमा सक्रिय रहँदै आएका पौडेल कुशल खेल व्यवस्थापक हुन् ।
उनले आयोजक तथा व्यवस्थापक भएर स्थानीयसँगै राष्ट्रिय खेल प्रतियोगिताहरु समेत गराएका थिए ।  आफ्नो जीवनको १५ वर्ष क्रिकेटमा खर्चेका उनले इटहरी कप टी २० का तीन वटा संस्करण, अण्डर १९ क्रिकेट प्रतियोगिताका तीन वटा संस्करण, प्रधानमन्त्रीकप महिला क्रिकेट, सातौं राष्ट्रिय खेलकुद महिला क्रिकेट जस्ता प्रतियोगिता गराइसकेेेका छन् ।

 नयाँ खेलाडीलाई तालिम दिनेदेखि राष्ट्रिय स्तरका प्रतियोगिता गराउनेसम्मका काममा उनी सक्रिय थिए । उनले बिगतदेखि नै खेल्न भन्दा व्यवस्थापनमा सक्रियता जनाएका थिए  । क्रिकेटको संस्थागत विकासका लागि उनी योजना बनाउन र दिनरात कुद्नमै व्यस्त हुन्थे।

तर यो सक्रियताले उनको परिवार पाल्ने सपोर्ट  दिएन बरु उल्टै आफ्नो भागको अंशसमेत क्रिकेटमा खन्याएर सकिएको पौडेलले बताएका छन् । पेशा व्यवशाय गर्ने पैसा पनि नभएपछि विकल्पै नभएर उनी विदेशिएको उनले बताए ।

बिदेश जानू अघि बिरक्तिएका उनले भने ‘खेलमा लागेकोलाई हेर्ने कुनै संस्था रहेनछ,’ उनले भने, ‘आफू दह्रो भएर खेल चाहिँ पार्ट टाइम गर्नुपर्दो रहेछ, मैले जानिनँ ।’

क्यानमा अझै दुई वर्ष उनको कार्यकाल बाँकी नै भएकोले वर्तमान उपाध्यक्ष कैलाश विष्टलाई कार्यवाहक पद दिएर उनी कतार उडेका छन्  । जाँदा जाँदै पौडेलले इटहरीको क्रिकेटकै विषयमा चिन्ता व्यक्त गरे । तीन चार वर्षपछि फर्केर आउँदा इटहरीकै रंगशालामा बसेर क्रिकेट हेर्नेे उनको इच्छा छ ।

क्रिकेट इटहरीका खेलप्रेमी युवा आशिष कार्की भन्छन्, ‘वहाँ नहुँदा इटहरीमा क्रिकेट प्रतियोगिताहरु गराउने मान्छे कोही छैन ।’ – न्युजलयको सहयोगमा