को को छन् महरासँग जेलमा सँगै बस्ने साथी ?

  • १९ कार्तिक २०७६, मंगलवार

जबर्जस्ती करणी मुद्दामा अदालतको आदेशपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

महराले अब कारागारमै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्नेछ ।  मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न थुनुवा पुर्जी दिई महरालाई डिल्लीबजार कारागार पठाउन अदालतको आदेशमा भनिएको छ ।

जेलमा महराले तीन जना साथी पाएका छन । सबै कैदीरबन्दीलाई एउटै सुविधा हुने र महरा पनि संयुक्त कोठामै बसेको डिल्लीबजारका जेलर अरुण पोखरेलले  बताउनुभयो । अन्यत्रभन्दा आफन्तहरूसँग भेटघाट सजिलो हुने भएकाले धेरैले डिल्लीबजार कारागार जान चाहान्छन् ।

सदरखोरका नामले चिनिने डिल्लीबजार कारागारमा दुई ब्लक छन् ।  यसमध्ये महरालाई राखिएको ुकु ब्लकमा पूर्वआइजिपी रमेशचन्द ठकुरी र पूर्वडिआइजी रञ्जन कोइराला महराका ‘सँगै बस्ने साथी’ बनेका छन् ।

ठकुरी र कोइराला बस्दै आएको कोठामा महरालाई राखिएको छ । ठकुरी सुडान शान्ति मिसनका लागि खरिद गरिएको सामान खरिदमा अनियमितता गरेको आरोपमा जेल परेका हुन् । सर्वोच्च अदालतले दोषी ठहर गरेपछि पनि लामो समय फरार रहेका उनी गत १९ असारमा अदालतमा उपस्थित भएका थिए ।

सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला श्रीमती हत्या अभियोगमा जेल परेका हुन् । उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको थियो । ठकुरी र कोइराला बस्ने कोठा तुलनात्मक रूपमा सुविधासम्पन्न भएकाले महरालाई त्यहीँ राखिएको बताइएको छ । – CIN  बाट