सुनसरीका ३९ भन्दा वढी स्थानमा भारतको अतिक्रमण, २३ वटा सिमा स्तम्भ नै गायब
- २५ कार्तिक २०७६, सोमबार
कालापानी र लिपुलेक लगायत मुलुकभर भारतसँगको सिमा बिवाद चर्किरहेको बेला सुनसरीमा ३९ भन्दा वढी स्थानमा नेपाली भूमि अतिक्रमण भएको छ ।
सुनसरीका दक्षिणबर्ति सिमा क्षेत्रहरुमा भारतले भुमि अतीक्रमण गरेको पाइएको हो ती ठाउँमा उनीहरूले घर निर्माण र खेतीपाती गरीरहेका छन । सुनसरीमा २३ वटा सिमा स्तम्भहरु हराएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुनसरीका प्रमुख कृष्ण ढकालले बताए ।
सुनसरीमा ४ मुख्य र १९ सहायक स्तम्भ गायब छन् । भारतको विहार राज्यसँग सिमाना जोडिएका साबिकका श्रीपुर, हरिपुर, नरसिंह, लौकही, घुस्की, बसन्तपुर, देवानगन्ज, अमडुवा, राजगन्ज सिनुवारी आदि स्थानमा भारतले अतिक्रमण गरेको स्थानीय बताउछन ।
अतिक्रमित भूमिमा ५ सयभन्दा बढी घरटहरा बनाएर भारतीय नागरिक बसेेका छन् । हरिनगराको वडा नं. ५ र ७ मा पिलर गाडिएको स्थल नजिकै भारतीयहरु छाप्रो बनाएर बस्दै आएका छन् । सिमा क्षेत्रमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल २४ सै घण्टा तैनाथ रहेपनि अतिक्रमण रोकिएको छैैन ।
बर्षैपिच्छे सिमा मिच्दै भारतीय नागरीकहरूले छाप्रा बनाउन थालेपछि नेपाली स्थानीयहरू आजित बनेका छन्। अन्तराष्ट्रिय सिमा नियम अनुसार दश गजा क्षेत्रमा दुवै देशका नागरिकहरुले कुनै गतिविधि गर्न पाईदैन । तर नेपाल र भारतका सिमाको दशजगा क्षेत्रमा भारतीय पक्षले खुलेआम रुपमा बसोबास गर्ने र खेती लगाउने कार्य गर्दै आएका छन् ।
सुनसरीको दक्षिणवर्ति क्षेत्रहरुमा भारततर्फ खेत भएका भारतीयहरुले दशगजा क्षेत्रमै खेती लगाएका र घर बनाएका छन् । तर दश गजा क्षेत्रका नेपालतर्फ बसोबास गर्ने स्थानीयहरु भने बोल्नै डराउँछन् । सुनसरीका थुप्रै स्थानका दश गजा क्षेत्र अतिक्रमणमा परे पनि सिमा क्षेत्रका नेपालीहरुले चुप लागेर बस्नुपर्ने बाध्यता छ ।