बेलबारीका ३० जना खेलाडीलाई तालिमका लागि बंगलादेश पठाउने तयारी, सहयोग जुटाइँदै
- ३० कार्तिक २०७६, शनिबार
बेलबारी फुटबल क्लबको पहलमा मोरङ बेलबारीका फुटबल खेलाडीहरुलाइ प्रशिक्षणका लागि बंगलादेश पठाइने भएको छ ।
खेलको स्तरोन्नती गर्दै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले दुई दर्जनभन्दा बढी खेलाडीहरुलाइ बंगलादेश पठाइने भएको हो । खेलाडीहरुलाइ फुटबल तालिम गर्न बंगलादेश पठाउनको लागि विभिन्न ब्यक्ति संघ संस्था तथा निकायहरुबाट सहयोग जुटाउन थालिएको बेलबारी फुटबल क्लबका अध्यक्ष रसिन तामाङले बताए ।
सो का लागि बेलबारी सरोकार समाज कतारले २४ हजार ३ सय सहयोग गरेको छ । समाजका संस्थापक सदस्य श्याम नेपालीले शुक्रबार एक कार्यक्रमबिच बेलबारी फुटबल क्लबका अध्यक्ष रसिन तामाङलाई सो रकम हस्तान्तरण गरेका छन् । बेलबारीलाइ फुटबलको हब बनाउने उद्देश्यले कतारमा रहेका बेलबारीबासी युवाहरुबाट संकलन गरी सो सहयोग गरिएको नेपालीले बताए ।
खेलाडीहरुलाइ तालिममा बंगलादेश पठाउन सहयोग जुटाउने अभिप्रायले केही समयअघि बेलबारीमा सांगीतिक कन्सर्ट समेत आयोजना गरिएको थियो । कार्यक्रममा जुटेको सहयोग तथा उठेको अन्य रकम समेत सोही कोषमा जानेछ ।
क्युवानिज क्लब अफ नेपाल र बेलबारी फुटबल क्लबको सहकार्यमा खेलाडीहरु बंगलादेश पठाउने र क्युवानिज क्लब अफ बंगलादेशले २५ देखि ३० जना खेलाडीलाई तालिम दिने योजनामा सहमति भइसकेकोले सो का लागि सहयोग जुटाउने अभियान थालिएको खेलाडी बंगलादेश पठाउन गठित सहयोग समितिका उप संयोजक जनक पोख्रेलले बताए । क्युबानिज क्लबमा तालिम लिनुपरेमा करोडौं खर्चनुपर्ने भएपनि क्लबले नि:शुल्क तालिम दिई सहयोग गर्ने सहमति भएकोले खेलाडीहरुको पासपोर्ट बनाएर भिषा लगाउने तथा आउने जाने टिकट ब्यबस्थापन गर्ने लगायत प्राबिधिक खर्च जुटाउने ध्येयले सहयोग जुटाउन थालिएको पोख्रेलले बताए । देश बिदेशमा रहेका ब्यक्ति, संघ संस्था र स्थानीय तहबाट सहयोग जुटाएर खेलाडीहरुलाइ बंगलादेश पठाउने योजना रहेको उनले बताए ।
त्यसो त बेलबारी फुटबल क्लबकै पहल र एन्फाको प्राबिधिक सहयोगमा बेलबारीमा फुटबल खेलाडीहरुलाइ बिगत डेढ दुई बर्षदेखि तालिम दिइदै आएको छ । प्रस्तावित बेलबारी रंगशालामा प्रत्येक शुक्रबार र शनिबार खेलाडी बन्न इच्छुक विद्यार्थी तथा खेलाडीहरुलाइ २ जना ब्यबशायिक प्रशिक्षकहरुबाट प्रशिक्षण दिइदै आएको क्लबले जनाएको छ ।