बेलबारीस्थित अर्काको गोठमा बसेकी ‘अर्पणकी आमा’ भन्छिन् ‘पापीहरुबाट बचाउनोस् ‘
जग्गा खोजेर घर बनाइदिन पहल गर्दै उपमेयर
- ४ मंसिर २०७६, बुधबार
२०७६ मंसिर २ गते एकाबिहानै ६ बजेतिर एक महिला मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित बेलबारी नगरपालिकाकी उपमेयर ढाका पराजुलीको दैलो अगाडि पुगिन् । अनिँदो झैं लाग्ने निन्याउरो अनुहार, जिङ्ग्रीङ्ग परेको कपाल अनि उदास र बेसहारा अस्तो लाग्ने करिब ५० बर्ष जस्तो देखिने ती महिलासँग उपमेयर पराजुलीले सोधखोज गरिन् । सोधखोजपछि थाहा भो, उनी बेसहारा भइ सहयोगको आशामा भौतारिदै उपमेयरको दैलोमा पुगेकी रहिछन् ।
आफ्नो घरमा आइपुगेकी ति महिलाको बारेमा उपमेयर पराजुलीले सबै जानकारी लिईन् ।
आफ्नो नाम नै भन्न चाहँदिनन् ‘अर्पणकी आमा’
पटक पटक नाम सोध्दा ती महिलाले आफ्नो वास्तविक नाम नै भनिनन् । आफुलाइ अर्पणकी आमा भनेर चिनाउने ती महिलाको आर्थिक अबस्था एकदमै कमजोर छ ।
बेलबारीको काकुममा दुई तीन बर्षअघि गाउँकै एक महिलालाई बलात्कार गरेको आरोपमा उनका श्रीमान् जेल परे । आफ्नो जग्गा जमीन र घर नभए पनि श्रीमानले मजदुरी गरेका भरमा जसोतसो परिवार पालेका थिए । कमाउने श्रीमान नै जेल परेपछि दुई छोरा र एक छोरी पनि सबै अरुको घरमा काम गरेर अन्यत्रै बसेर पेट पाल्दै आएका छन् । एक छोरा भारततिर छन् , अर्का छोरा गाउँतिरै अरुको घरमा काम गरेर बसेका छन् अनि छोरी चाहिँ गाउँकै एकजनाको सहयोगमा माइती नेपालको आश्रय स्थलमा बस्दै आएकी छिन् ।
पापिष्टहरुको डरले रातभर सुत्दिनन् ‘अर्पणकी आमा’
बेलवारी नगरपालिकाकी उपमेयर पराजुलीले बेलबारी ९ को नलबारी चोकमा एउटा गाईको चुहुने गोठको आश्रयमा बसेको जानकारी दिईन् । पानी पर्दा चुहुने र घाम पनि छिर्ने झिक्रा र टाटीले बारेको गोठमा बसेकी उनी त्रासमा बाँचेकी छिन् ।
आफू बस्ने गोठ सडकको छेउमा रातको समयमा गलत सोच र नियत बोकेका अपरिचित पापी मानिसहरू आएर जिस्क्याउने तथा लौरो, घोचा आदिले बार भत्काएर आक्रमणको प्रयास गर्ने गरेको ‘अर्पणकी आमा’ले बताइन् ।
महिलाद्वारा सहयोगको याचना, जग्गा खोजेर घर बनाइदिन पहल हुँदै
खाने बस्ने समस्या लगायत आफ्नै सुरक्षाको चिन्ताले पिरोलिएकी उनले आफुलाइ सुरक्षित बासस्थानको ब्यबस्थाका लागि सहयोग गरिदिन सबैमा अनुरोध गरेकी छिन् । गोठमा खान र लाउने केही नभएकी उनलाइ उपमेयर सहित नगरपालिकाको टोलीले छाप्रोमा पुगेर त्रिपाल, ब्लाङ्केट उपलब्ध गराएको छ ।
‘अर्पणकी आमा’ लाई तत्कालका लागि केही सामाग्रीहरु उपलब्ध गराईएको र दिर्घकालको लागि एउटा घर बनाउने योजना रहेको उपमेयर पराजुलीले जानकारी दिईन् । वडा कार्यालय मार्फत जग्गा खोजेर तथा टोल विकास संस्था, वडा कार्यालय, सामुदायिक वन तथा साझेदारी बन र अन्य सहयोगीहरुबाट सहयोग जुटाएर सुरक्षित घर निर्माण गरिदिन पहल गर्ने उपमेयर पराजुलीले बताइन् । – अम्बिका भण्डारी