सरस्वती गुरुङ बचाउ अभियानमा बिश्वभरबाट उठ्यो ३८ लाख, मृगौला पिडित सरस्वतीले पाइन् नयाँ जीवन
- २१ मंसिर २०७६, शनिबार
मोरङको बेलबारी नगरपालिका वाड ४ निवासी मृगौला रोगबाट पीडित सरस्वती गुरुङले नयाँ जीवन पाएकी छिन् ।
लामो समयदेखि मृगौलाको समस्याबाट पिडित उनको शल्यक्रिया सफल भएको छ । दुई वर्षदेखि मिर्गौलामा आएको समस्याका कारण उनी बिरामी थिइन् ।
उनको उपचारका लागि सरस्वती गुरुङ बचाउ अभियान समिति गठन गरी रकम संकलन अभियान संचालन गरिएको थियो ।
समितिले शनिवार बेलबारी १ स्थित तमु बुद्ध गुम्बामा पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण गरेर सरस्वतीलाई निको पार्न सफल भएको जनाएको छ । सरस्वतीको दुवै मिर्गौलाले काम गर्न छाडे पछि चिकित्सकको सल्लाह अनुसार प्रत्यारोपण गरिएको थियो ।
सरस्वती बचाउ अभियानमा ३८ लाख ७७ हजार १ सय ७३ रुपैयाँ सङ्कलन भएको थियो । उपचारका लागि ३८ लाख ७० हजार ३ सय ४५ उपचारमा खर्च भएको र ६ हजार २८ रुपैयाँ बचेको सरस्वती बचाउ अभियान समितिले जनाएको छ ।
सरस्वती बचाउ अभियानका अध्यक्ष मनकुमार गुरुङले सरस्वतीको दीर्घ जीवनको कामना गर्दै एक वर्ष अगाडिबाट सुरु गरेको सरस्वती बचाउ अभियान सफलता पूर्वक सम्पन्न भएको बताए । अध्यक्ष गुरुङले सरस्वती गुरुङलाई बचाउन देश विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । ’ अध्यक्ष गुरुङले सरस्वती बचाउ अभियान समिति विगठन भएको पनि औपचारिक घोषणा गरेका छन् ।
सरस्वतीकी श्रीमान् मनबहादुर गुरुङका अनुसार उपचारको लागि गाडी र जग्गगासमेत बेचिएको छ । मनबहादुरले ड्राइभिङ पेसा गरेर घर खर्च धानीरहेका थिए । तर अहिले त्यो गाडी छैन । त्यतिमात्र होइन, ऋणको पोको अझै खुस्किसकेको छैन । तर पनि श्रीमतीले नयाँ जीवन प्राप्त गरेकोमा मनबहादुर खुसी छन् । सरस्वती गुरुङ बचाउ अभियान समिति, आर्थिक सहयोग गर्ने व्यक्ति तथा सबै संघसंस्था एबम सञ्चारकर्मीहरुलाई धन्यवाद व्यक्त गर्दै मनबहादुरले भने ‘मेरो कलिलो छोरालाई टुहुरो हुनबाट बचाउनु भयो, सबैलाई धेरै धन्यवाद दिन चाहन्छु ।’