नगरपालिकामार्फत भुकम्प प्रतिरोधात्मक घर बनाउन सिक्दै तीन दर्जन युवाहरू

  • २३ मंसिर २०७६, सोमबार

 भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) को प्राबिधिक सहयोगमा पर्बतको कुश्मामा एक हप्ते डकर्मी तालिम शुरु गरिएको छ ।
भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माण र नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यन्वयनलाई सघाउन “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यान्वयनका लागि सो तालिम आयोजना गरिएको हो ।
  उक्त तालिममा कुश्मा नगरका सबै वडाबाट करीब तीन दर्जन डकर्मीहरु सहभागी छन् । प्रत्येक दिन सैद्धान्तिकका साथसाथै व्याबहारिक ज्ञान दिलाइन्छ । नगरपालिकाको उप मेयर सिता कुमारी काफ्लेले तालिमको  उदघाटन गरेकी छिन् ।
उद्घाटनको क्रममा उप मेयर काफ्लेले वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठको प्रयासमा नगरपालिकामा शुरु भएको यस तालिमले सहभागीहरुलाई भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी ज्ञान दिलाउने बताइन् । उनले आगामी दिनमा नगरपालिकाभित्र भूकम्प प्रतिरोधी भवनहरुको निर्माणमा यो तालिमले महत्वपूर्ण योगदान दिने कुरामा आफू आशाबादी भएको बताइन् ।
वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठले यस तालिमका कारण प्राप्त हुने भूकम्प प्रतिरोधी भवनहरुको निर्माणको व्याबहारिक ज्ञान र सीपलाई  उपयोग गरी भवन बनेेेमा बिगतका जस्ता भूकम्पका कारण नगरपालिकाभित्र हुने धन जनको क्षति न्यूनिकरण हुने बताए ।
तालिम उद्घाटन  कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत ध्रुबराज पौडेल, नगरपालिकाका अधिकृत चक्रपाणी सुबेदी, भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) का इन्जिनियरद्धय दर्शन मल्ल र कपिल रिजाल, नगरपालिकाका महिला विकास अधिकृत चेत कुमारी शर्मा, नगरपालिकाका इन्जिनियर सञ्जय लामिछाने लगायतको उपस्थिति थियो ।