जिल्लाभरी एकैखाले ऐन कानुन बनाउन तम्सिए मोरङका स्थानीय सरकारहरु

  • १२ पुष २०७६, शनिबार

मोरङका १७ वटै स्थानीय तहले एकै खालको कानुन बनाएर कार्यान्वयनमा ल्याउने भएका छन् ।

अन्तरपालिका साझा सरोकार मञ्चको केराबारी २ स्थित जेफालेमा यसै हप्ता बसेको बैठकले स्थानीय तहहरुले फागुनको पहिलो साता भित्र एकैदिन हिउँदे अधिवेशन (नगर/ गाउँसभा) गरेर सबै पालिकामा एकै प्रकृतिको कानुन लागू गर्ने निर्णय गरेको हो ।

स्थानीय सरकारका लागि चाहिने ऐन नियमहरुमा एकरुपता ल्याएर साझा सन्देश दिन खोजिएको साझा सरोकार मञ्च मोरङका संयोजक तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

यसअघिको बैठकले स्थनीय सरकारका लागि चाहिने कानुन ड्राफ्ट गर्न विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको संंयोजकत्वमा सुन्दरहरैचा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहाल, बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाह सदस्य रहेको समिति गठन गरेको थियो ।
विज्ञसँग छलफल र परामर्श गरेर समितिले ड्राफ्ट गर्ने काम गरीरहेको संयोजक अधिकारीले बताए । १५ माघसम्म सबै स्थानीय तहमा कानुनको ड्राफ्ट पठाइसक्ने समितिको तयारी छ । मोरङमा एक महानगरपालिका, ८ नगरपालिका र ८ गाँउपालिका गरी १७ वटा स्थानीय तह छन् ।