नेपाल भ्रमण बर्षको उद्घाटन गर्यो प्रदेश १ सरकारले पनि, पाँच लाख पर्यटन भित्र्याउने लक्ष

  • १६ पुष २०७६, बुधबार

 एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने उदेश्य सहित प्रदेश १ सरकारले नेेपाल भ्रमण बर्षको भब्य उद्घाटन गरेको  छ ।

 अंग्रेजी नयाँ वर्षको शुभारम्भसँगै पर्यटन बर्ष सन् २०२० लाई भब्य बनाउन प्रदेश सरकारले  बिराटनगरमा उद्घाटन  कार्यक्रम गरेको  हो ।  भ्रमण बर्षको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले  प्रसस्तै संभावना बोकेको र प्रसस्तै पर्यटकीय स्थलहरु रहेकोले १ नम्बर प्रदेशमा एक बर्षमा ५ लाख पर्यटक भित्र्याउने दाबी गरे ।

विराटनगरको सहिद रंगशालामा तामझामका साथ शुरु भएको पर्यटन वर्षलाई स्वागत गर्न हेलिकोप्टरबाट पुष्पबृष्टी गरिएको थियो  । प्रदेशमा पर्यटन क्षेत्रले अहिले कुल ग्राहस्थ उत्पादनमा प्रदेश १ ले मात्र एक दशमलव ९३ प्रतिशत योगदान दिइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले अबको बर्षमा पाँच प्रतिशत योगदान पुर्याउन बाटो तय गरीसकेको दाबी गरे । पर्यटन वर्ष मूल समिति अध्यक्ष उद्योग पर्यटन वन तथा वातावरणमन्त्री जगदीसप्रसाद कुसियैतले पर्यटन वर्षलाई सफल बनाउन सरकारले कुनै कसरत बाँकी नराख्ने उद्घोष गरे ।
भारतको पश्चिम बंगालबाट आएका पर्यटन व्यवसायी राज बसुले सिक्किम र पश्चिम बंगालसँग प्रदेश–१ ले ज्वाईन्ट सर्किट बनाएर पर्यटन प्रवद्र्धन गर्न सक्ने बताए । प्रदेश १ मा धेरै पर्यटकीय ठाउँहरु रहेकोले प्रदेश–१ ले सिक्किमसँग गुराँस सर्किट, रेडपाण्डा सर्किट र तराईमा हात्ती सर्किट बनाएर पर्यटकीय गतिविधि बढाउन सकिने उनको दाबी छ । यसरी सर्किट बनाएर गरिने पर्यटन प्रवद्र्धनका गतिबिधिले प्रदेश १ सहित बंगाल, बिहार र सिक्कीमले दुवैतर्फका प्रदेश सरकारले फाइदा लिन सक्ने बसुको भनाई छ ।

प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक राजन श्रेष्ठले प्रदेश सरकारले शुरु गरेको अभियानबाट अब प्रदेश १मा पर्यटन क्षेत्रको ढोका खुलेको उल्लेख गरे ।

बिराटनगरको शहिद रंगशालामा प्रदेश सरकारले गरेको उद्घाटनको क्रममा बिभिन्न झाँकीहरु प्रस्तुत भएका थिए भने त्यो सँगै बिभिन्न क्षेत्रबाट आएका सर्बसाधारण सहित संघ संस्थाहरु ब्यानर सहित प्रस्तत भए ।