किन जरुरी छ पत्रकारका दलीय संगठनहरुको खारेजी ?

केशु बिरही

  • १ माघ २०७६, बुधबार

 प्रत्यक्ष वा परोक्ष रुपमा पत्रकारिता गर्न थालेको झण्डै अढाई दशक भइसकेछ ।  वि.स. २०५० साल पछिबाट सुरु भएको  पत्रकारिताका सुरुका केही वर्ष सिकाईकै क्रममा विते पनि त्यसबेला तेह्रथुमबाट प्रकाशिन हुने ‘खोजतलास साप्ताहिक’, ‘ताप्लेजुङ साप्ताहिक’, पछि आफैले सम्पादन गरेको ‘अन्तरदृष्टि’ साप्ताहिक, र काठकाडौबाट प्रकाशन हुने ‘स्पेसटाईम, र ‘नेपाल समाचार पत्र’ हुँदै पछिल्लो समय पूर्वका ‘मकालु टेलिभिजन’ तथा ‘संयन्त्र डटकम’ ( हाल पुर्वेली डटकम) सम्मको यात्रा गर्दा पत्रकारितामा झण्डै अढाई दशक बिताईएछ । पूर्णकालीन वा अल्पकालीन जे भए पनि यो क्षेत्रबाट टाढा रहन सकिएन । पत्रकारिताको नसा नै त्यस्तो रहेछ क्यार, छाडौँ भन्दा पनि छाड्नै नसकिने ।
केही वर्षलाई छाडेर मैले प्रायजसो निरन्तर रुपमै पत्रकारिता गरिरहिएको छु । यसक्रममा थुप्रै तितामिठा अनुभवहरु सङ्गालिएका छन् जुन मेरा लागि अमूल्य सम्पत्ति बनेका छन् ।
देशमा आएको पछिल्लो परिवर्तनको मूल कारण १० वर्षे माओवादी जनयुद्ध वा जनविद्रोह पनि हो । मैले त्यो अवधिलाई नजिकबाट नियाल्ने अवसर पाएको छु । सदरमुकाम म्याङ्लुङ जाँदा

तत्कालीन बिद्रोही पक्षको निगरानी वा आशंकामिश्रित नजर हुन् वा आठराई फर्कदा सत्ता पक्षका अविश्वासी नजर र पछिपछि लगाइएका सिआइडीहरुको पनि मुकाबिला गरिएकै हो । यी सबै यादहरु ऐठन बनेर मानसपटलमा बसिरहेका छन् अहिले पनि ।
माओवादी जनयुद्धसँग जोडिए विषयवस्तुहरुलाई नजिकबाट नियालेर उठान गर्ने क्रममा थुप्रै चुनौतिको सामना गर्नु नपरेको होइन । तैपनि पत्रकारिता क्षेत्रबाट कहिल्यै हरेस खाईएन । कलमसँगको पवित्र नातालाई कहिल्यै तोडिएन ।
माओवादीलाई प्रत्यक्ष वा परोक्ष जुनसुकै रुपमा सहयोग पुग्ने काम गर्ने सबै माआवादी नै हुन् भन्ने सुरक्षानिकायको मनोविज्ञान,  लाग्ने भए लाग्छ नलाग्ने भए गाउँ छाडेर भाग्छ भन्ने माआवादीको मनोविज्ञानलाई समेत बेवास्ता गर्दै गाउँमै बसेर तत्कालीन सत्ता वा विपक्षीका तर्फबाट भएका सबै घटनालाई उजागर गर्नेमध्ये म पनि  एक हुँ । यस्तो सङ्गिन घडिमा समेत पत्रकारिताको निष्पक्षता र तटस्थताका शिद्धान्तलाई नभुली चलेको कलम अव कसैको पक्ष र विपक्षमा वा दवावमा चल्ने कुरै भएन । बरु लेख्नै छाडिन्छ तर ‘सहीलाई  गलत र गलतलाई सही हो’ भनेर चाहिँ लेखिन्न भन्ने मेरो आदर्श अझैँ ज्यूँका त्यूँ छ ।

बसाइको सहजता खोज्ने क्रममा म पनि तेह्रथुमको आठराइ छाडेर उत्तरी मोरङको बेलबारीमा बसोबास गर्दै आएको छु लामै समयदेखि । मलाई बेलबारीले चिन्छ चिन्दैन, त्यो म भन्न सक्दिन तर म  बेलबारीलाई राम्ररी नै चिन्छु । वि.स. २०४५ सालमा मेरो पहिलो पाइला बेलबारीमा परेको थियो । २०६० पछि त पूर्णकालिन रुपमै बेलबारीमा बसोबास गर्न पुगें । स्थायी रुपमै बसोबास गर्दै आएको नाताले पनि मैले बेलबारीलाई अझ राम्ररी चिन्दछु भन्दा अत्युक्ति नहोला ।
जीवनको चार दशकभन्दा बढीको उतारचढाव र अढाई दशकको पत्रकारिता पार गर्दै यो अवधिसम्म आईपुग्दा मैले कुनै पनि राजनैतिक पार्टीको सदस्यता लिएको छुईन र पछिल्लो समय राजनैतिक पार्टी र तिनका नेताको व्यवहार देख्दा राजनैतिक पार्टी र तिनका नेताप्रति म आकर्षितभन्दा बढी विकर्षित चाहिँ भएको छु । यो अवधिमा आफूले अनुभूत गरेका केही कुरालाई बुँदागत रुपमा समेट्ने जमर्को गरेको छु ।
मिडियाजस्तै लाग्दैनन् मिडियाहरु 
पछिल्लो समय मिडियाहरु मिडियाजस्तै लाग्नै छाडेका छन् । अधिकांश मिडिया हाउसहरु राजनैतिक पार्टी र तिनका भातृ वा भगिनी सङ्गठनजस्तै देखिन थालेका छन् ।
मिडिया हाउसको स्थापनादेखि लिएर त्यहाँ नियुक्ती हुने सम्वाददातासमेत राजनैतिक आस्थाकै भरमा आउने गरेका छन् । राजनैतिक आस्था वा सिफारिस नै त्यहाँ आउनेको मुख्य आधार वा योग्यता बन्ने गरेको छ । मानिसको योग्यता र क्षमतालाई भन्दा पनि उसको राजनैतिक आस्थालाई नै मूल योग्यता ठान्दै आइएको देखिन्छ ।
कुरा घाम जत्तिकै छर्लङ्ग छ, एउटा राजनैतिक पार्टी वा तिनीहरुकै सिफारिसमा नियुक्त भएका व्यक्तिबाट निष्पक्षता वा तटस्थताको आश गर्नु कति जायज होला ? सिफारिसबाट आएको व्यक्तिले निश्पक्षता र तटस्थताको नियम अपानाउनै सक्दैन भन्ने मेरो बुझाई हो । र अहिले सम्मको अभ्यासले पनि त्यही कुरालाई पुष्टी गर्दै आएको छ ।
पत्रकारका सङ्गठन कि दलका ? 
प्रेस चौतारी र प्रेस सेन्टर मिलेर पछिल्लो समयमा प्रेस सङ्गठन बन्न पुगेको छ । यो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको छाता सङ्गठन हो । त्यस्तै अर्को प्रेस युनियन नामक संस्था छ । त्यो नेपाली काङ्ग्रेस निकट पत्रकारहरुको छाता सङ्गठन हो । अरु पनि यस्ता केही सङ्गठन छन् जसले आफूलाई पत्रकारहरुको सङ्गठन भनेर दावी गर्छन् । तर यहाँ अन्य सङ्गठनका बारेमा चर्चा गरिएको छैन र गर्नु जरुरी छैन पनि ।
प्रेस सङ्गठन र प्रेस युनियन नेकपा र नेका निकट पत्रकारहरुको  सङ्गठन भन्दा पनि तत् तत् राजनैतिक पार्टीकै भातृसङ्गठनजस्तै देखिन्छन् । यी सङ्ठनहरुले पत्रकारितालाई व्यवस्थित तथा मर्यादित बनाउनेतर्फ ठोस कदम चाल्नै सकेनन् । यिनीहरु पत्रकारितालाई व्यवस्थित बनाउने, पत्रकारहरुको हकहितमा लड्नेभन्दा पनि पार्टीकारिता र पत्रकारिताको नामलाई भजाएर खाने ध्याउन्नमा मात्र देखिन्छन् । धेरैले त यसलाई राज्यका उपल्लो तहमा पुग्ने सिँडिको रुपमा प्रयोग गर्दै आएका छन् ।
यस्ता सङ्ठनमा भएका धेरैले त पत्रकारिता कर्म नै गर्दैनन् । पत्रकारिता कर्म नै नगर्ने केको पत्रकार ? तर राजनीति आडमा ती सङ्गठनहरुमा त्यस्ताकै बाहुल्यता छ । यतिसम्म कि ठेकेदार, ठुल्ठुला व्यापारी तथा नेताहरुले पनि ती सङ्गठनका सदस्यता पाएका छन् । यस्ता सङ्गठनहरुमा यस्ता मानिसहरु पार्टीको निर्देशनमा कहिले हनुमान बनेर त कहिले अरिङ्गाल बनेर अरुमाथि खन्निन्छन् । पार्टीको निर्देशन मात्र मान्ने, पत्रकारिता कर्म नै नगर्नेलाई पनि पत्रकार  मान्नुपरेको छ ।
पछिल्लो समय पत्रकारिताप्रति जनताको अविस्वास घट्दै जानुमा पनि यी र यस्तै प्रवृत्तिको हात छ । दलहरूले निमुखा पत्रकारलाई  उपयोगको साधन बनाउने र टाठाबाठाले पत्रकारितालाई भंँजाएर खाने र (माथि) सत्तामा जाने भर्याङ बनाउने कार्यमा मात्र समय खर्चदै आउंँदा पत्रकारिताप्रति नै आँच आएको छ । पत्रकारिताप्रति जनताको विश्वास घटेको छ ।
पत्रकारका दलीय संगठनहरुको खारेजी किन ?
निसन्देह समाज परिवर्तनमा मिडिया र मिडियाकर्मीको ठूलो योगदान हुन्छ । राजतन्त्र, प्रजात्रन्त्र हुँदै देश सङ्घीय गणतन्त्रमा आईपुग्दा मिडियाको अतुलनीय योगदान रहेको छ । यो योगदान र मिडियाको महत्वलाई बचाईराख्न सक्नु पथ्र्यो तर त्यो हुन सकिरहेको छैन ।
मिडिया र मिडियाकर्मी निश्पक्ष नरहेसम्म जनताले सही अर्थमा गणतन्त्रको प्रत्याभूति गर्न सक्दैनन् । उनीहरुले पाउने सूचनाको हकको कुरा त टाढैको कुरो हो । मिडियालाई निश्पक्ष बनाउनु आजको एउटा चुनौति र आवश्यक्ता पनि हो । मिडियालाई व्यवस्थित बनाउन पत्रकारिता नामका राजनैतिक संगठनहरुको अविलम्ब खारेजी गरिनु पर्छ । एउटा स्वतन्त्र संस्था (पत्रकार महासङ्घ) बाहेकका अन्य सङ्घ सङ्गठन खोल्न प्रतिवन्ध लगाउनु पर्छ ।

अझै स्पष्ट हुनुपर्छ पत्रकारका मापदण्ड
युवा पुस्तामा पत्रकारिताको आकर्षण झन वढ्दो छ , यो राम्रो लक्षण हो । अव विद्यालयस्तर देखि नै पत्रकारिता सम्बन्धी पठनपाठन हुनुपर्छ । परिपक्व मानिसले मात्र सही निर्णय लिन सक्छ भन्ने हाम्रो मान्यता रही आएको छ । यो मान्यतालाई अक्षुण राख्न पत्रकारिता क्षेत्रमा प्रबेेश गर्नेहरुलाइ पनि केही कडाई गरिनुपर्ने आवश्यक देखिन्छ ।

विद्यालयस्तरको अध्ययन भर्खर सिद्याएका व्यक्ति त्यति परिपक्व नहुन पनि सक्छन् । उनीहरु ठिक र वेठिक छुट्याउन सक्ने अवस्थामै पुगेका नहुन सक्छन् । तसर्थ पत्रकारितामा प्रवेशका केही सर्तहरु केही परिवर्तन गर्नुपर्ने देखिन्छ । अव कम्तिमा पत्रकारिता विषय लिएर स्नातक पूरा गरेकालाई मात्र यो क्षेत्रमा प्रवेश दिनुपर्छ । त्यसैगरी हालको मौजुदा ऐनमा स्नातक गरेकाले सम्पादक बन्नसक्ने प्रावधान रहेको छ । हुन त पत्रकारिताको अनुभवलाई पनि केही आधार बनाएको पनि देखिन्छ । अनुभवले पत्रकारिता तथा सम्पादनलाई सहयोग नै पुर्याउछ । तर तिनलाई मात्र सम्पादकको योग्यता ठानिनु चाहिँ भुल हुनेछ । भन्नुको मतलब स्नातकोत्तर सम्मको अध्ययनले मात्र पनि सम्पादकको योग्यता पूर्ण हुन्छ भन्ने चाहिँ होइन ।

सम्पादन कार्य त्यति सहज छैन, कुन विषय छाप्ने नपाप्ने सबै अधिकार एउटा सम्पादकमा निहित रहन्छ । कुन म्याटर छाप्दा के हुन्छ भन्ने विवेक पुर्याउन नसक्दा ठूला ठूला घटना समेत घट्ने गरेका छन् । मिडियाले वद्नामी समेत व्यहोरेका घटनाहरु पनि छन् । त्यस्तै पत्रकारितामा प्रवेश गर्नेले भाषा, राजनीति, अर्थशास्त्र, कानुन, ईतिहास जस्ता विषयको ज्ञान हुनु आवश्यक छ । झन् सम्पादकका लागि त यी अनिवार्य सर्त नै हुन् ।

पत्रकारितालाई मर्यादित तथा व्यवस्थित पार्न अर्को नभै नहुने सर्त भनेको मिडियालाई राजनीतिबाट अलग गराउनु पनि हो । पछिल्लो समयमा यो सर्त आवश्यक मात्र नभएर अत्यावशयक भएको छ । कुनै पनि राजनैतिक पार्टी र तिनका सङ्गठनमा अवद्ध रहेका व्यक्तिलाई मिडिया प्रवेसलाई अयोग्य ठहरिने ऐनमा व्यवस्था गर्नु आवश्यक देखिन्छ । मिडियालाई स्वतन्त्र र निश्पक्ष बनाउन सकियो भने मात्र हामी यो पेसासँग जोडिएकाहरु ‘हामी मिडियाकर्मी हौं’ भन्न सक्छौँ नत्र मिडियाकर्मी हुँ भन्दा शीर झुकाएर हिँड्नुपर्ने दिन नआउला भन्न कसरी सकिएला खै !
(लेखक विगत लामो समयदेखि पत्रकारिता र साहित्य क्षेत्रमा समेत सक्रिय छन् ।)