केराबारी ९ स्थित देवीझोडा सिरानमा बन्नेभो पक्की पुल, सर्वेको काम शुरु

  • २६ माघ २०७६, आईतवार

मोरङको केराबारी गाउँपालिका वडा नं. ९ को देवीझोडा र कुसुमे तथा भलुवा, घंघरु र खयरघारीको बीचमा रहेको भलुवा (लोहोन्द्रा) खोलामा पक्की पुल निर्माण हुने भएको छ ।

देवीझोडा र कुसुमे अनि भलुवा, घंघरु, खयरघारीलाइ वारीपारी पार्ने लोहोन्द्रा खोलामा पक्की पुल निर्माण हुने भएको हो । पुल निर्माणको लागि प्रदेश सरकारले दुई करोड विनियोजन गरेको भए पनि झण्डै एक बर्षदेखि पुल बन्ने  हल्ला मात्रै चलेको थियो । हालै पुलको सर्वे नै शुरु गरिएपछि पुल बन्ने पक्का भएको हो  । शुक्रबार बिहानै ७ बजेतिर लोहोन्द्रा खोला किनारमा पुग्दा प्राबिधिकहरु सर्भे गरिरहेका देखिन्थे ।

त्यहाँ पुल निर्माणका लागि यस अघि गाउँपालिकाले समेत माटो परिक्षण डिपीआर गरेको थियो । गाउँपालिका आफैले पुल निर्माणको लागि योजना अघि सारेपनि लागत बढी हुने र सय मीटरदेखि माथिको पुल प्रदेश सरकारले बनाउने प्रावधान रहेकोेले प्रदेश सरकारले बजेट विनियोजन गरी पुल निर्माण गर्न लागेको  केराबारी गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्वुले बताईन् ।

यसअघि सो पुल कहाँनेर बन्ने भन्नेमा समेेत बिवाद र अन्योल थियो ।प्रदेश सरकारले देवीझोडा सिरानमा बनाइने पुल केराबारीको वडा नं. ९ र ३ लाई जोड्ने गरी भलुवादेखि पश्चिमपट्टी डिपिआर गर्न लागेेको भन्दै वडाबासीविच विवाद समेत उत्पन्न भएको थियो ।  मदन भण्डारी राजमार्ग मार्ग निर्माणसंगै त्यसक्षेत्रमा स्वत: पुल  बन्ने र वडा नं. ९ लाई जोड्न देवीझोडा सिरानमै पुल बनाउने गरी नै यसअघि डिपीआर समेत बनिसकेकोले त्यहीँ  सर्भे भइरहेको केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लले बताए ।

अघिल्लो बर्षदेखि नै पुल बनाउन बजेट बिनियोजन भएको र चर्चा चलेको पनि पुल बन्ने स्थलबारे अन्यौल हुँदा प्रदेश सरकारको बजेट फ्रिज हुने खतरा बढेको थियो  । खयरघारीमा पुल निर्माण हुने भएपछि स्थानीय वासिन्दाहरु पनि खुशी भएका छन् ।

केराबारी ९ को देवीझोडा र कुसुमे खोलाभन्दा पश्चिमतिर छन् भने भलुवा, खयरघारी घँघरु, बेलचौरी लगायतका गाउँहरु खोलादेखि पुर्वपट्टी छन् । लोहोन्द्रा खोलामा पुल नबनेकै कारण वडावासीहरुलाई खासगरी वर्षा याममा आवात जावत गर्न कठिनाइ हुँदै आएको छ ।

खोलाको समस्याका कारण वडा नं. ९ मा वडा कार्यालयको काम कारवाही हप्तामा तीन दिन वारी र तीन दिन पारीबाट हुँदै आएको छ । वडा कार्यालय घँघरुमा भएपनि देवीझोडा र कुसुमेवासीको सहजताको लागि देवीझोडामा समेत वडा कार्यालय रहँदै आएको छ ।