मोरङ जिल्लाकै उत्कृष्ट ठहरियो बेलबारी नगरपालिकाको न्यायिक समिति
- २ फाल्गुन २०७६, शुक्रबार
मोरङको बेलबारी नगरपालिकाको न्यायिक समिति जिल्लाकै उत्कृष्ट भएको छ ।
शुक्रबार जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवाकोटी नेतृत्वको टोलीले बेलबारी न्यायिक समितिले गरेका कामहरुको अनुगमन गर्दै मोरङका १७ स्थानियतहरु मध्ये बेलबारी उत्कृष्ट रहेको घोषणा गरेका छन् ।
न्यायिक समितिमा परेका उजुरी तथा निवेदनहरु मेलमिलाको माध्यमवाट मिलाउने गरेको भेटियो शिवाकोटीले भने – कामको चाप समेत अन्यत्र भन्दा बढी भएको र निवेदन दर्ता भएको केहि समयमा नै मिलाउने गरेको देखियो ।
बेलबारी नगरपालिकाको न्यायिक समितिमा जिल्लाका १७ स्थानीय तहमध्ये सबैभन्दा बढी उजुरी दर्ता भएको नगरपालिकाका रुपमा परिचित भएको समेत उनले बताए । दर्तामात्र होइन सबैभन्दा धेरै मुद्दाहरुलाई मेलमिलाप गराएर अदालत जान नपर्ने अवस्था सृजना गरिदिने सफल न्यायिक समितिको परिचय पनि बेलवारी नगरपालिकाले बनाएको समेत उनले बताए ।
‘आर्थिक क्षमता नभएका र अदालतसम्म पहुँच राख्न नसक्नेहरु न्यायका लागि यहाँ आउने गरेका छन्’ जिल्ला अदालतवाट आएको टोलीसँग कुराकानी गर्दै नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली भनिन् ‘त्यस्ता नागरिकको मुद्दामा हामीले अत्याधिक मिहिनेत गरेर यहींँबाट समाधानको पहल गर्ने गरेका छौं र हामीलाई सफलता पनि मिलेको छ ।’
सम्बन्ध बिच्छेदका लागि जिल्ला अदालतमा जाने मुद्धा समेत दुई पक्ष विच छलफल गराएर मिलाउने गरेको समेत पाइएको अनुगमन टोलिले जनाएको छ । पहिले प्रहरी चौकीमा जाने घरेलु हिंसा, महिलाका कतिपय यौनजन्य हिंसाका घटना तथा साँध सिमाना, बाँधपैनी आदि जस्ता झगडाहरु अहिले नगरपालिकामा आउने गरेकाले प्रहरीलाई समेत सहयोग पुग्ने गरेको छ ।