मेनपावरबाट ठगिएका नेपाली युएईमा अलपत्र 

  • ५ फाल्गुन २०७६, सोमबार

रामकुमार परियार
युएई । काठमाडौको पुरानो बानेश्वर स्थित दुई मेनपावर एजेन्सीको ठगीमा परि युएईमा ५० भन्दा बढी नेपाली अलपत्र परेका छन ।
युएईको सारजाह स्थित ईमिरेट्स क्याब कम्पनीमा आकर्षक तलब र सुविधाको लोभमा परि ओसो रिक्रुटिङ एजेन्सी र फ्युचर मेनपावर एजेन्सीमार्फत युएई आएका नेपालीहरु अलपत्र परेका हुन । ६ महिना अघि ति मेनपावरले उनीहरुलाई जनही २ लाख ५० हजार देखि ३ लाखसम्म असुलेर युएई ल्याएको उनीहरुले बताएका छन ।
पीडित नेपालीहरुले मेनपावरले आफुहरुलाई जालि सम्झौता गरि युएई ल्याएर अलपत्र पारेको हुँदा क्षतिपूर्ति उपलब्ध गराई स्वदेश फर्काउन आग्रह गर्दै अबुधाबी स्थित नेपाली दूतावासलाई निवेदन समेत दिएका छन ।
मेनपावरले खाने – बस्ने सुविधा सहित मासिक बेसिक १५ सय दिराम र ओभरटाईम तथा कमिसन गरि मासिक ५ हजार दिराम सम्म कमाई हुने आश्वासन दिएको तर यहाँ आईसकेपछि बेसिक सेलरी समेत नपाएको सिरहाका अनिल यादवले बताए । आफुले यस विषयमा कम्पनीसंग कुरा गर्दा कम्पनीले उल्टै धम्की दिएर कोठाबाटै निकालिदिएको उनले बताए ।
आफुहरुले सम्झौता अनुसारको सेवा सुविधा र तलब पाउनुपर्ने भन्दै मेनपावरमा कुरा गर्दा  उल्टै धम्कि दिएको र केही दिनमा कम्पनीले  कोठाबाट निकालि दिएको उनीहरुले बताए । काठमाडौका विक्रम लामा भन्छन् “एउटा सानो कोठामा २० जना बसेका छौं , अहिले खाए भरे के खाने भन्ने स्थितिमा गुज्रिएका छौँ ।”

दूतावाससंग गुहार

 पीडितहरुले अबुधाबीस्थित नेपाली राजदुतावासमा सहयोगको आग्रह गर्दै निवेदन हालेर गुहार मागेका छन ।
मेनपावरले आफुहरुलाई जाली सम्झौता गरि युएई ल्याएर अलपत्र पारेको र कम्पनीसंग घर फर्काई दिन आग्रह गर्दा प्रतिव्यक्ति ६ हजार दिराम मागेको पीडितहरुले निवेदनमा उल्लेख गरेका छन ।
निवेदनमा पीडितले आफुहरुसंग कम्पनीले मागेको रकम दिन सक्ने स्थिति नभएको उल्लेख गरेका छन । साथै दूतावासलाई आफुहरुको लागत फिर्ता गरि स्वदेश फिर्ता गरिदिन उनीहरुले आग्रह गरेका छन ।
यस विषयमा कुरा गर्दै युएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले पीडितहरुको उद्दारमा राजदुतावास गम्भीर भएर लाग्ने बताए ।