मनोज गजुरेल र अस्मिता अधिकारीको प्रस्तुतिले रमाए बेलबारीबासी, अब पालो आस्था राउतको

  • १९ फाल्गुन २०७६, सोमबार

बेलवारीमा भइरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ मा को दोस्रो दिन आइतबार चर्चित हास्य कलाकार मनोज गजुरेल र गायिका अस्मिता अधिकारीले महोत्सव तताएका छन्  ।

बेलुका आठबजेतिर मन्चमा उक्लेका मनोजले पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाको अभिनय गर्दा साँच्चिकै उनै पो मञ्चमा आएका हुन् कि झैँ लाग्थ्यो । मनोजले बास्कोटाले ७० करोड कमिसन मागेको अभिनय गर्दा महोत्सव स्थलभरी खचाखच भएका दर्शकहरु पेट मिचिमिची हाँसेका थिए । उनको प्रस्तुतिले दर्शक मन्त्रमुग्ध भएका देखिन्थे ।

साँझ नपर्दै महोत्सवस्थल प्रवेश गरेपनि मनोज गजुरेलपछि मञ्चमा उक्लेकी नेपाल आइडल २ की टप फाइनलिष्ट अस्मिता अधिकारीले पनि दर्शकलाई मज्जाले नचाएकी थिइन् ।  चिटक्कै परेर आएकी जवान अस्मिताको प्रस्तुतिले महोत्सवमा आएका युवाहरू भुतुक्कै भएका थिए । उनले आफुले गाएका साली मनपर्यो लगायतका चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् ।

महोत्सवको तेस्रो दिन (आज) आस्था राउतले दर्शक नचाउने

आज (सोमबार) महोत्सवको तेस्रो दिन गायिका आस्था राउतले महोत्सव तताउने भएकी छिन ।

राउतसँगै बेलबारीको स्थानीय व्यन्ड टिकाहाङ एन्ड द्रव्यको पनि प्रस्तुति रहनेछ । सोमबार स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य पनि प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

आस्थाका दर्जनौ गीतहरु चर्चित छन् । पछिल्लो समय नाकैमा फुली , कानैमा ढुंग्री चाहिदैन , मलाई नेपाली होईन भन्न कहाँ पाइन्छ, झम्के बुलाकी, नाच ठुली नाच, तिमी मेरो मन मुटु   लगायतका  उनले गाएका गीतहरु  चर्चित छन् ।  राउत भ्वाईस अफ नेपाल रियालिटी शो को निर्णायकबाट  पनि चर्चित बनेकी छिन् ।

महोत्सव अबधिभर हरेक दिन जाति तथा समुदायको दैनिक प्रस्तुतिहरु हुनेछन् । महोत्सवमा हरेक साँझ राष्ट्रिय तथा पुर्वेली कलाकारहरुले मनोरञ्जन दिनेछन् । महोत्सवमा राजेश पायल राइ, प्रमोद खरेल, शिव परियार, आस्था राउत, मनोज गजुरेल, सन्दीप क्षेत्री, सत्यकला राइ, पार्वती राई, कृष्णभक्त राइ, अस्मिता अधिकारी, साजन राई, भीषण मुकारुङ, मेचु धिमाल रुपकुमार राई, तृष्णा गुरुङ, सुनिता थेगिम लगायत पुर्वेली तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा  विभिन्न जातजातिका परम्परा र संस्कृति झल्काउने स्टलहरु पनि राखिएका छन् । आयोजकका अनुसार महोत्सवमा मौलिक खानपिनका परिकारका अलावा कृषि तथा उद्योगबाट उत्पादित सामग्री, अटोमोबाइल्स, होटल लगायत विभिन्न खाले स्टलहरु रहेका छन् । त्यसैगरी महोत्सवमा सबै प्रकारका खेल खेलाइने बाल उद्यानको पनि मज्जा लिन सकिन्छ ।

महोत्सवलाई चौधरी ग्रुप र नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । त्यसैगरी महोत्सवमा एनएमबी बैंक, बेतना सिमसार, कानेपोखरी बी एण्ड बी कन्स्ट्रक्सन र सयपत्री मल्टिपर्पोज कम्पनी प्रायोजक छन् । बेलबारी नगरपालिका र प्रदेश १ को उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालय महोत्सवको मुख्य प्रबर्द्धक छन् । महोत्सवमा हस्पिटालिटी पार्टनर ड्रीमल्याण्ड फन, बीवाइक्यु ट्रान्सपोटेसन पार्टनर, बेलबारीमा रहेका आधा दर्जन बैंकहरु बैकिङ पार्टनर, आधा दर्जन स्कुलहरु एजुकेसन पार्टनर छन् ।